वायर्नसँग हारेपछि आगजनी, पीएसजीका डेढ सय समर्थक पक्राउ

पेरिस सेन्ट जर्मेन (पीएसजी) का करिव डेढ सय समर्थक पक्राउ परेका छन्।

आइतबार राति पोर्चुगलको लिस्बनमा भएकाे युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पराजित भएपछि आगजनी गर्ने समर्थक पक्राउ परेका हुन्।

पेरिसको पार्स डेस प्रिन्सेसमा खेल हेर्न ५ हजार बढी समर्थक जम्मा भएका थिए। उनीहरु जर्मन क्लब वायर्न म्युनिखविरुद्धको फाइनलमा १-० गाेल अन्तरले हारेलगत्तै कारमा आगजनी र तोडफोडमा उत्रिएका थिए। 

पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पीएसजीविरुद्ध खेलको दोस्रो हाफमा पीएसजीकै पूर्वखेलाडी किंग्सले कोमानले गरेको गोल नै निर्णायक बन्यो। वायर्नका किङ्गस्ले खेलको ५९ मिनेटमा गोल गरेका थिए। 

पहिलो हाफमा आक्रामक प्रस्तुति दिएको पीएसजीले गोल गर्न भने चुकेको थियो। बराबरी गोलका लागि संघर्ष गरेको पीएसजी सफल नहुँदा उपाधि गुमाउन पुग्यो।

आफ्नो टिम फाइनलमा पराजित भएपछि पीएसजीका समर्थकहरुले पसलमा पनि तोडफोड गरेको बताइएको छ। 

आगजनी तथा तोडफोडमा उत्रिएपछि प्रहरीसँग समर्थकको झडप भएको र प्रहरीले १ सय ४८ जना पक्राउ परेका छन्। त्यसक्रममा केहीले आगजनी गर्न थालेपछि प्रहरीले टियर ग्यास हानेको थियो।

पेरिसका मेयर एनी हिडाल्गोका अनुसार यसअघि सेमिफाइनलको खेल पनि समर्थक जम्मा भएर हेरेका थिए। त्यसैले फाइनल हेर्न पनि अनुमति दिइएको थियो।

फाइनल हेर्नका लागि जम्मा भएका केही समर्थकहरुबीच झडप समेत भएको थियो। उनीहरुले सामाजिक दूरीको नियम पनि उल्लंघन गरेका थिए।

प्रकाशित मिति: : 2020-08-24 14:27:40

प्रतिकृया दिनुहोस्