इजरायलमा एक हजार वर्ष पुराना सुनका सिक्का भेटिए

एजेन्सी

इजरायल

इजरायलमा एक हजार वर्ष पुराना सुनका सिक्का भेटिएको छ । यी सिक्का इस्लामको प्रारम्भिक कालको भएको जनाइएको छ । सोमबार इजरायलको पुरातत्व प्राधिकरणले ती सिक्का मध्य इजरायलको येभन शहर नजिकै गत अगष्ट १८ मा  भेटिएको जनाएको छ । विभागले ४२५ वटा सुनका सिक्का भेटिएको बिबिसीले जनाएको छ । प्राधिकरणले केही युवा स्वयंसेवकहरुले उत्खनन् गर्ने क्रममा ती सिक्का भेटेको जनाएको छ ।

 

सिक्का लगभग ११ सय वर्ष पहिले अब्बासी राजवंशको शासनकालको भएको समेत जनाइएको छ । पुरातत्व प्राधिकरणका निर्देशक लियट नादभ जिभले भने– ‘हाम्रो अनुमान छ कि ११ सय वर्षअघि कसैले सिक्का जमिनमा गाडेको थियो । जहाँ सिक्का भेटियो, त्यहाँ त्यस समयमा बजार भएको अनुमान छ ।’ उत्खनन्मा खट्ने एक युवा स्वंसेवकले भने– ‘सुनका सिक्का भेट्टाउनु वास्तवमै उत्साहजनक छ ।’

ती सिक्का कसले लुकायो भन्ने कुरा भने रहस्यमै रहेको प्रधिकरणका अधिकारीहरुले बताएका छन् । उत्खनन्मा खटिएका स्वंसेवकहरुका अनुसार सुरुमा ती सिक्का पातला पातहरु जस्ता देखिएका थिए । खन्दै जाँदा सुनका सिक्का भएको पाइएको हिन्दी जागरण डटकमले लेखेको छ । उनीहरुले यो खालको प्राचिन र विशेष किसिमको खजना भेट्नु निकै उत्साहजनक कुरा भएको बताए । 
 

प्रकाशित मिति: : 2020-08-24 23:31:35

प्रतिकृया दिनुहोस्