कोरोना महामारीमा पनि आर्थिक सूचक राम्रो

गोरखापत्र

काठमाडौँ

भेषराज बेल्बासे

गत आर्थिक वर्ष २०७६÷७७ को अन्तिम चार महिनामा आर्थिक गतिविधि ठप्प रहँदा पनि वार्षिक आर्थिक अवस्थामा ठूूलो प्रतिकूल प्रभाव परेको देखिएको छैन ।
नेपाल राष्ट्र बैङ्कले जारी गरेको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका सूचक अनुसार गत वर्षको आर्थिक तथा वित्तीय स्थिति सकारात्मक देखिएको हो ।
केन्द्रीय तथ्याङ्क विभागलाई उद्धृत गर्दै राष्ट्र बैङ्कले जनाए अनुसार आर्थिक वर्ष २०७६÷७७ मा २.२८ प्रतिशत आर्थिक वृद्धि भएको अनुमान छ । कृषि क्षेत्रको वृद्धि २.५९ प्रतिशत, उद्योग क्षेत्रको ३.२३ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि १.९९ प्रतिशत रहेको छ ।
त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २७.६५ प्रतिशत, १४.२७ प्रतिशत र ५८.०८ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६÷७७ मा कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको १८.१ प्रतिशत पुगेको छ । कुल पुँजी निर्माण, कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादन सँगको अनुपात क्रमशः ५०.१५ प्रतिशत, २८.१४ प्रतिशत र ४६.०३ प्रतिशत रहेको छ । कुल जलविद्युत् उत्पादन ११.५० प्रतिशतले वृद्धि भई १३१८.२ मेगावाट पुगेको छ ।

प्रकाशित मिति: : 2020-08-25 07:53:19

प्रतिकृया दिनुहोस्