राेनाल्डाेकाे छायाँमा परेका हिग्विनलाई युभेन्ट्सले गर्‍याे बिदा !

इटालियन सिरि ए क्लब युभेन्ट्सका फरवार्ड गोन्जालो हिग्विनले छाड्ने भएका छन्।

४१ बर्षका क्लबका नयाँ प्रशिक्षक आन्द्रे पिर्लोले आफ्नो पहिलो पत्रकार सम्मेलनमा  हिग्विनले क्लब छाड्ने बताएका हुन्।

मौरिजियो सर्री बर्खास्तमा परेपछि अगष्ट ८ मा क्लबले पिर्लोलाई प्रशिक्षक बनाउने निर्णय गरेको थियो।

उनले पाब्लो ड्याबाला क्लबमै रहने उल्लेख गर्दै हिग्विनले क्लब छाड्ने प्रष्ट पारे।

‘उनी महान च्याम्पियन हुन्। उनी महान खेलाडी हुन्। म उनलाई धेरै सम्मान गर्छु। तर चक्र सकिएको छ। हामीले अलग हुने निर्णय लिएका छौं,’ पिर्लोले भनेका छन्।

हिग्विन युभेन्ट्सका तेस्रो महङ्गा खेलाडी हुन्। २००५ मा रिभर प्लेटमा रहेका हिग्वेन २००७ देखि २०१३ सम्म रियल मड्रिडमा थिए। उनी त्यहाँबाट नापोली गएका थिए। नापोलीबाट सन् २०१६ मा कीर्तिमानी मुल्य ७५ मिलियन पाउण्डमा नापोलीबाट युभेन्ट्स आएका थिए।

उनले १ सय ४९ खेलमा ६६ गोल गरेका छन्। उनी लोनमा चेल्सी र एसी मिलान समेत गएका थिए। एसि मिलानबाट १५ खेल खेलेका उनले ८ गोल पनि गरेका थिए।

अर्जेन्टिनी फरवार्ड ड्याबाला अन्य क्लबसँग समेत जोडिएका छन्। तर पिर्लोले उनलाई क्रिस्टियानो रोनाल्डोको पार्टनरको रुपमा राख्न चाहेका छन्।

‘ड्याबाला मेरो लागि महत्वपूर्ण खेलाडी हुन्। उनी जति सक्दो चाँडो फर्कनेछन्। उनी क्लबको योजनाको अंश हुन्,’ पिर्लोले भने।

यता क्रिष्टियानो रोनाल्डो रियल मड्रिडबाट युभेन्ट्स गएपछि हिग्वेनको स्थानमा संकटमा परेको थियो। तर पिर्लोले राेलाडाेलाई केही वर्ष काखि च्यापन खाेजेका छन्।

‘रोनाल्डोसँग कुराकानी भएको छ। हामीले भूमिका र रणनीतिका बिषयमा छलफल गरेका छौं,’ उनले भने।

पिर्लोले चार पटक सिरि एको उपाधि जितेका छन्। उनलाई जुलाईमा क्लबको यू २३ टिमको प्रशिक्षकमा नियुक्त गरिएको थियो।

तर केही हप्तापछि सिनियर टिमका मुख्य प्रशिक्षक सर्री बर्खास्तमा परेपछि उनको बढुवा गरिएको हो।

उनले आफ्नो डेब्यु सिजनमै सिरि एको उपाधि जित्ने लक्ष्य राखेका छन्।

प्रकाशित मिति: : 2020-08-26 06:26:48

प्रतिकृया दिनुहोस्