युरोपेली देशलाई डब्ल्यूएचओको चेतावनी, जाडोयाममा मर्नेको संख्या बढ्न सक्छ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जाडोको मौसम सुरु भएपछि युरोपमा कोरोना संक्रमणको संख्या बृद्धि हुने चेतावनी दिएका छन्। 

डब्ल्यूएचओका युरोप निर्देशक हेनरी क्लगले चेतावनी दिँदै जाडोयाम सुरु भएपछि अस्पताल भर्ती हुने र मर्नेको संख्या पुनः तीब्र हुने बताएका छन्।

उनले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, ‘जाडोयाममा बुढाबुढी मात्र होइन, युवामा पनि अत्याधिक कोरोनाको समस्या देखिने सम्भावना छ। हामी अनावश्यक भविष्यवाणी गरिरहेका छैनौं। तर, निश्चय नै कोरोनाको संक्रमण बढ्ने सम्भावना छ।’

हेनरीले आउदो महिना तीन प्रमुख कुरामा विशेष ध्यान दिन युरोपेली देशलाई आग्रह गरेका छन्। उनले स्कुल, जाडोयाममा लाग्ने चिसो र बृद्धबृद्धामा विशेष ध्यान दिन अपील गरे।

‘स्कुल पुनः खोल्दा चिसोमा केटाकेटीलाई कोरोना संक्रमण सर्ने सम्भावना रहन्छ। फेरि चिसोयाम त्यसै पनि रुघाखोकीको मौसम हो। तेस्रो कुरा चिसोमा त्यसै पनि बृद्धबृद्धा अधिक मर्ने गर्छन,’ उनले भने। 

गत डिसेम्बरदेखि सुरु भएको कोरोना संक्रमणका कारण विश्वमा २ करोड ४६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। यसमा युरोपमा मात्र ३४ लाख बढी संक्रमित भएका छन्। युरोपमा हालसम्म २ लाख ६ हजारभन्दा बढीको निधन भइसकेको छ। यहाँ अझैं १२ लाख ४६ हजारभन्दा बढी ‘एक्टिभ केस’ छ। ५ हजार बढीको अवस्था दयनीय छ। 

विश्वभरिको अवस्था हेर्दा हालसम्म ८ लाख ३४ हजार ७ सय ९१ जनाको निधन भइसकेको छ। हाल गर्मीको मौसममा पनि युरोपमा २८ हजारभन्दा बढी संक्रमित दैनिक फेला पर्नु चिन्ताको विषय मानिएको छ। युरोपमा सबैभन्दा बढी संक्रमित देश रुस हो भने बेलायतमा सबैभन्दा बढी मानिस मरेका छन्। 

रुसमा ९ लाख ७५ हजार बढी संक्रमित फेला परेका छन्। जसमा १६ हजार बढीको निधन भएको छ। बेलायतमा भने ४१ हजार बढीको निधन भएको छ। यहाँ ३ लाख ३० हजार बढी संक्रमित भएका छन्। 

युरोपमा सर्वाधिक मर्नेहरूको संख्या बेलायतपछि इटाली र फ्रान्स छ। दुबै छिमेकी देशमा ३० हजार बढी मानिस मरेका छन्। इटालीमा ३५ हजार बढीको निधन भएको छ भने फ्रान्समा ३० हजार बढीले ज्यान गुमाएका छन्। 

युरोपको अन्य देशको तुलनामा पोर्चुगल सुरक्षित मानिन्छ। यहाँ ५६ हजार बढी संक्रमित भएका छन् भने १८ सय २ जना मानिसको मात्र निधन भएको छ।

प्रकाशित मिति: : 2020-08-28 07:10:13

प्रतिकृया दिनुहोस्