राजनीति र साहित्यको सम्बन्ध

गोरखापत्र

काठमाडौँ

नगेन्द्रराज रेग्मी

संस्कृत मनीषिहरूको परिभाषा सापट लिएर भन्ने हो भने जसमार्फत हितकारक भावनाको प्रसार हुन्छ, त्यसैलाई साहित्य भनिन्छ । कुनै पनि भाषाको कलात्मक लालित्यले परिपूर्ण लिखित वा मौखिक अभिव्यक्रि साहित्यको कोटिमा पर्छ । नेपाली बृहत् शब्दकोशका अनुसार कुनै देश वा जातिको व्यावहारिक वा भावनात्मक विषयसम्बन्धी ग्रन्थ, लेख आदि वाङ्मयलाई साहित्य भनिन्छ । अर्को शब्दमा जीवनजगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचिने हृदयस्पर्शी लेख, ग्रन्थ आदि नै साहित्य हुन् । साहित्यको सम्बन्ध मान्छेको मन र हृदयसँग रहन्छ । मनको भूमिका प्रधान हुने हुँदा साहित्य र साहित्यकार अलिक स्वच्छन्द प्रकृतिका हुन्छन् । राजनीति, समाज, धर्मजस्ता अनेकौँ सीमा, बन्धन र बारहरू साहित्यकारलाई मन पर्दैन । यस्ता सीमा र बन्धनको अतिक्रमण गर्नसमेत उनीहरू बेर लगाउँदैनन् । त्यसैले पाश्चात्य दार्शनिक प्लेटोले आफ्नो युटोपिया (काल्पनिक गणराज्य) मा कवि लेखकलाई प्रवेश निषेध गरेका थिए । प्रसिद्ध चिन्तक बीपी कोइरालाले भनेका थिए– ‘राजनीतिमा म समाजवादी हुँ भने साहित्यमा अराजकतावादी ।’ उनले बताएको अराजकताको अर्थ कुनै अनुशासन नभएको वितण्डावादी भनेको होइन, बरु स्वच्छन्द र स्वतन्त्र चिन्तनमा विश्वास गर्ने स्वयं अनुशासित व्यक्ति भनेको हो ।
उता राजनीति भनेको चाहिँ जनसमाजमा शान्तिसुरक्षा कायम गर्ने, जनतालाई अनुशासित, सुखी र समृद्ध बनाउने, मौलिक अधिकारको कदर गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिमा उपयुक्त सन्तुलन स्थापित गर्ने र राज्यव्यवस्थालाई सुचारु तुल्याउने नीति हो । यसरी झट्ट हेर्दा साहित्य र राजनीति यी दुवै कुरा जनसमुदायसँगै सम्बन्धित छन् । मान्छे र ऊ बाँचिरहेको समाजको उन्नति, प्रगति र समृद्धिका बारेमा चिन्तन र प्रयास गर्नु नै राजनीति र साहित्य दुवैको मूल प्रयोजन हो तर शैली, विषय र व्यवहारका दृष्टिले चाहिँ साहित्य र राजनीति भिन्नाभिन्नै विषय हुन् भन्न सकिन्छ । साहित्य भावनात्मक उपज हो र यसले मस्तिष्कमा होइन, भावनामा गएर आफ्नो स्थान सुरक्षित गराउँछ । मस्तिष्कको अपेक्षा भावना अत्यन्त पूर्वाग्रहरहित संवेदनशील मानवीय चेतनस्थल हो । साहित्यको सिधा सम्पर्क मानवको आन्तरिक संवेदनासँग हुन्छ । मान्छेको शरीरमा संवेदनाका दुई केन्द्र छन् ः मस्तिष्क र हृदय (मन) । यीमध्ये साहित्य मन वा हृदयसँग सम्बन्धित हुन्छ भने राजनीति मस्तिष्कसँग सम्बन्धित हुन्छ । साहित्यको तुलनामा राजनीतिको शैली, विषय र व्यवहार अलिक रुखो, कठोर र यथार्थपरक हुने गर्छ ।

प्रकाशित मिति: : 2020-08-29 08:16:49

प्रतिकृया दिनुहोस्