ओली सरकारमा नेवार समुदाय बहिष्कृत !

समानुपातिक समावेशीको संवैधानिक मर्मविपरीत नेकपाको व्यवहार

राजधानीका आदिवासी पुष्पलाल श्रेष्ठले स्थापना गरेको राजनीतिक पार्टी नेकपाको झन्डै दुई तिहाइ बहुमतको सरकार रहेका बेला नेवार समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । पार्टीको नेतृत्व तहदेखि नै राजधानीको आदिवासी नेवार समुदाय बहिष्कृतजस्तै बनेको छ ।

पुष्पलालका साथ नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नेहरुमा नरबहादुर कर्माचार्य, नीरञ्जन गोविन्द वैद्य र नारायण विलाश जोशी हुनुहुन्थ्यो । तर अहिले केपी ओली अध्यक्ष तथा प्रधानमन्त्री भएको त्यस पार्टीको सचिवालयमा कुनै नेवार छैनन् न त फुल मन्त्रीमा नै नेवार अटाएका छन् । विश्वको उत्कृष्टमध्ये एक भनिएको २०७२ को संविधानले समानुपातिक समावेशीको कुरा गरेको छ तर मुलुकको करिब ६ प्रतिशत जनसंख्या रहेको नेवार समुदाय राजनीतिक नेतृत्वबाट बहिष्कृत प्रायः देखिन्छ ।

नेकपाको शक्तिशाली नेतृत्वदायी निकाय सचिवालयमा कुल नौ सदस्य छन्, तर एक जना पनि राजधानीको नेवार देखिँदैन ।

७१ वर्षअघि गठन भएको नेकपामा पार्टी र सरकार दुवै असमावेशिताको उदाहरण बनेको छ । पार्टी गठनको कुरा मात्र होइन राज्य निर्माणमा पनि नेवार समुदायको योगदान अग्रपंक्तिमा देखिन्छ । लोकतन्त्रको स्थापनामा उनीहरुले ज्यान दिएका छन् ।

जहानिया राणा शासन हटाउन गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्री जोशीले शहादत प्राप्त गरे । चार प्रमुख शहीदमा तीन जना त नेवार नै छन् । तर आज, २२ जना फुल मन्त्री भएको क्याबिनेटमा एउटै नेवार देखिँदैनन्, पछि कृपा गरेर एक राज्यमन्त्री नेवार थपिएको अवस्था छ । प्रभावशाली पदमा नेवारलाई कुनै अवसर दिएको देखिन्न ।

प्रकाशित मिति: : 2020-08-30 07:18:38

प्रतिकृया दिनुहोस्