नेपालमा जस्तै कानूनमाथि भद्दा मजाक गर्ने एउटा मुद्दा

संजोग आचार्य

न्युयोर्क

नेपालमा मात्र होइन, अमेरिकामा पनि कानुन माथि भद्धा मजाक हुने गरेको छ। यसको पछिल्लो उदाहरण बनेको छ, डेरेक चौभिनको मुद्धा।
 
केही महिनाअघि अश्वेत नागरिक जर्ज फ्लोयडको घाँटीमा घुँडाले थिचेर मारेको आरोपमा मिनेपोलिसका एक प्रहरी अधिकारी डेरेक र उनका तीन सहयोगी पक्राउ परेका थिए। 

यो घटनामा राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारविरूद्ध मानवअधिकारको कुरा उठाउँदै विश्वव्यापी विरोध भएको थियो। 

कोरोनाको संक्रमणका बीच पनि न्यायप्रेमी लाखौं अमेरिकी विरोधमा उत्रिएका थिए। प्रहरीको ज्यादतीविरूद्ध भएको प्रदर्शनमा धेरै शहरमा तोडफोड हुनुका साथै करौडौं रुपैयाँको क्षति भएको थियो। यो मुद्धाले अमेरिकाको विश्वव्यापी छवीमा नकरात्मक असर परेको थियो। 

देशभित्र ठूलो प्रदर्शन र विश्वव्यापी विरोध भएपछि जर्ज फ्लोयडको हत्यामा संलग्न भएको आरोपमा पुलिस अधिकारी डेरेकसहित उनका तीन सहयोगीलाई तत्कालै जागिरबाट बर्खास्त गरिएको थियो। 

तर, अहिले अभियुक्त डेरेकसहित तीन प्रहरीको मुद्धा मिनेपोलिसको अदालतमा सुरु हुँदा सबैलाई आश्चर्यमा पार्ने बयान बाहिर आएको छ। 

अभियुक्त डेरेकका वकिलले फ्लोयडको निधन घुँडाले थिचेर नभई ड्रग्सको अत्याधिक प्रयोगले भएको आरोप लगाएका छन्। 

डेरेकका वकिलको आश्चर्यमा पार्ने नयाँ बयान बाहिर आएपछि यो मुद्धालाई निकै गम्भीरताका साथ हेरिरहेका अमेरिकीहरू अवाक भएका छन्। 

हत्यामा संलग्न डेरेकसहित अन्य तीन प्रहरीविरूद्ध फ्लोयडको परिवारको पक्षमा मुद्धा लडिरहेका वकिलले अदालतमा उनीहरूको तर्कलाई ठाडैं अस्विकार गरे। फ्लोयडलाई पहिले प्रहरीले हिरासतमा लिएको थियो। 

उनको हातमा हत्कडी लगाएको अवस्थामा घाँटीमा घुँडाले थिच्नुको औचित्य प्रमाणित नहुने भन्दै फ्लोयडको वकिलले तर्क राखेका थिए। उनले क्रृरताका साथ फ्लोयडको ज्यान लिएको आरोप लगाएका थिए। 

अदालतमा उनको अर्को तर्क पनि थियो, घटनास्थलमा जम्मा भएका मानिसहरूले प्रहरी कार्यवाहीको विरोध गर्दा गर्दै ८ मिनेटसम्म घुँडाले घाँटी थिचेर किन राखियो? फ्लोयड आफैले पनि स्वास फेर्न गाह्रो परिरहेको र घुँडा हटाउन आग्रह गरेको भिडियो सार्वजनिक भएको थियो। 

‘फ्लोयडले स्वास फेर्न गाह्रो परिरहेको र घटनाका प्रत्यक्षदर्शीले उनलाई छोडिदिन गरेको आग्रह विपरित प्रहरी क्रृरताका साथ प्रस्तुत भयो। डेरेकको घिनलाग्दो कृत्यको उनको सहयोगीले पनि विरोध गरेनन्। हेरेर बसे,’ फ्लोयडको वकिलको भनाई उधृ्रत गर्दै अमेरिकी अखबारहरूले लेखेका छन्। 

फ्लोयड हत्याकाण्डको सबै कागज शुक्रबार अदालतमा जम्मा भएपछि बहस सुरु भएको छ। अश्वेत फ्लोयडको घाँटी २५ मेमा घुँडाले थिचेरे गोरा प्रहरी डेरेकले मारेको आरोपमा अहिले पनि ठाउँठाउँमा विरोध भइरहेको छ। 

प्रहरी अधिकारी डेरेकसँगै यो घटनामा अन्य तीन अधिकारी जे. एलेक्जेन्डर क्वेङ, थोमस लेन र तोउ थाउलाई अभियुक्त बनाइएको छ। हत्या प्रमाणित भएको खण्डमा डेरेकलाई साढे बाह्रदेखि पन्त्र वर्षसम्मको जेल सजाय हुनेछ। यस्तै, अन्य तीनलाई साढे चार वर्षसम्म सजाय हुने सम्भावना प्रबल छ। 

अमेरिका कानुनी राज्यका लागि निकै बलियो मानिन्छ। अब हेर्न बाँकी छ, हत्याको यो मुद्धालाई काला र गोराबीचको अहंकारको रूपमा अदालतले निर्णय गर्छ कि कानुनी राज्य स्थापित गर्ने दिसामा अर्को कोसेढुंगा सावित हुन्छ।

प्रकाशित मिति: : 2020-08-31 07:58:55

प्रतिकृया दिनुहोस्