जरिवाना तिर्न नसक्दा दुबई विमानस्थलमै अड्किए १७ जना नेपाली

लामो पर्खाइपछि देश फर्किन लागेका १७ नेपाली दाजुभाई तथा दिदीबहिनीहरू युुनाइटेड अरब इमिरेट्स(युएई) को विमानस्थलमै अडकिएका छन्। 

उनीहरू भिषाको समयभन्दा बढी बसेको ‘ओभरस्टे’ को जरिवाना तिर्न नसक्दा दुबईको अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका हुन्। 

आज बिहान (सोमबार) नेपाल विमानको चार्टर्ड उडानमार्फत नेपालीहरूको एउटा समूह देश फर्किएका छ। महंगो टिकट काटेर २ सय ६८ जना नेपाली दुबई विमानस्थल पुगेकोमा ‘ओभरस्टे’ को जरिवाना तिर्न नसक्दा १७ जनालाई विमानस्थलमै रोकिएको थियो। सोमबार २ सय ५१ जना मात्र देश फर्किएका छन्। 

नेपाल विमानका युएई प्रतिनिधि टिकाराम पंगेनीले बिएल नेपाली सेवालाई यसको जानकारी दिँदै भने, ‘उहाँलाई ओभरस्टेका कारण जरिवाना तिरेर मात्र नेपाल फर्किन पाउने जानकारी युएई सरकारले दिएपछि रोकिनु भएको हो।’

उनले सबैलाई एक पल्ट लैजान ४ घण्टा दुबई विमानस्थलमा जहाज होल्ड गरेर राखिएको बताए। ‘लकडाउनका कारण लामो समय युएईमा बस्नुपर्दा प्रायः नेपालीको भिषाको अवधि समाप्त भएको रहेछ। अधिकांशले जरिवाना तिर्नुभयो। १७ जनाले तिर्न नसक्दा यस्तो अवस्था आएको हो,’ उनले भने। 

लामो समयदेखि रोजगार गुमेर बसेका र नेपाल फर्किन टिकट काटिसकेका नेपालीलाई लैजान समस्या भएपछि केही समय विमान पार्किङमा राख्नु परेको नेपाल विमानका कर्मचारीले जानकारी दिए। 

युएई सरकारले मार्च १ भन्दा अघि भिषाको समय समाप्त भएपनि जरिवाना नलिने घोषणा गरेको थियो। तर, त्यसभन्दा पछि भिषाको अवधि सकिएर स्वदेश नफर्किएकासँग जरिवाना लिइरहेको छ। 

कोरोनाका कारण दुबई–काठमाडौंको नियमित विमान अहिले रद्द छ। बेलाबेलामा सरकारले उद्दारको नाममा विमान सेवा सञ्चालन गरेपनि त्यो नियमित नहुँदा युएईबाट नेपाल फर्किन चाहेका नेपालीहरू मार्कामा परेका छन्। विदेशबाट देश फर्किन चाहने नेपालीहरूको संख्यामा कोटा सिस्टम लागु गर्दा नेपालीहरूले ‘ओभरस्टे’ को जरिवाना तिर्नु परिरहेको छ।

प्रकाशित मिति: : 2020-08-31 14:14:39

प्रतिकृया दिनुहोस्