भारतीय प्रधानमन्त्री मोदीलाई सबैभन्दा बढी ‘डिसलाइक’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू प्रधानमन्त्री नियुक्त भएपछि टेलिभिजन र रेडियो मार्फत जनताहरूसँग कुराकानी गर्दै आइरहेका छन्। जसलाई उनले ‘मन कि बात’ नाम दिएका थिए। 

उनको यो कार्यक्रममा देश र विदेशमा बसोबास गर्ने लाखौं भारतीय संलग्न छन्। र, उनको यो कार्यक्रमलाई रुचाउनेहरूको संख्या पनि ठूलो मात्रामा छ। तर, पहिलोपल्ट उनको कार्यक्रमलाई भारतीय जनताले सबैभन्दा बढी ‘डिसलाइक’ गरेका छन्। 

आइतबार बिहान उनले ११ बजे टेलिभिजन र रेडियोमा करिब आधा घण्टा बोलेका थिए। उनको यो कार्यक्रमलाई भारतीय जनता पार्टी (भाजपा) को युट्युब च्यानल, आफ्नो युट्युब च्यानल, प्रधानमन्त्री कार्यालयको युट्युब च्यानल, राष्ट्रिय समाचार एजेन्सी दूरदर्शनलगायत मिडियामा अपलोड गरिएको थियो। 

तर, यी सबै च्यानलमा ‘लाइक’ को स्थानमा ‘डिसलाइक’ बढी आएको छ। अपलोड गरेको केही घण्टामै पार्टीको च्यानलमा मात्र ४ लाख ५० हजार ‘डिसलाइक’ आएको छ। । प्रधानमन्त्री मोदीले कार्यक्रम सञ्चालन गरेयता सबैभन्दा बढी ‘डिसलाइक’ आएको यो नै पहिलो घटना हो। 

भाजपाको युट्युब च्यानलबाहेक प्रधानमन्त्री कार्यालयको युट्युब च्यानलमा पनि ७० हजारको हाराहारीमा ‘डिसलाइक’ पुगेको छ। प्रधानमन्त्री स्वयमको युट्युब च्यानलमा १ लाखभन्दा बढी मानिसले ‘डिसलाइक’ गरेका छन्। 

प्रधानमन्त्री मोदीले ३० अगस्टमा गरेको ‘मन कि बात’ कार्यक्रमको भिडियोमा यसअघि सबैभन्दा बढी ‘डिसलाइक’ आएको थियो। तर, सबैभन्दा बढी मानिसले यही भिडियो अवलोकन गरेका थिए। भाजपाको युट्युब च्यानलमा अपलोड गरिएको यो भिडियोलाई १७ लाख मानिसले हेरेका थिए। 

प्रधानमन्त्री मोदीले यसै वर्ष मार्च महिनामा पनि ‘मन कि बात’ कार्यक्रम गरेका थिए। जसलाई २ लाख ७६ हजार मानिसले हेरेका थिए। यतिबेला मोदीले कोरोनाका कारण देशमा ‘लकडाउन’ लगाउनु परेकोमा माफी मागेका थिए। 

अहिले सबैभन्दा बढी ‘डिसलाइक’ आएको कार्यक्रममा प्रधानमन्त्री मोदीले देशलाई आत्मनिर्भर कसरी बनाउने भन्ने कुरामा प्रवचन दिएका थिए। उनले ‘आत्मनिर्भर भारत’ अन्तर्गत खेलौना उधोगले कति ठूलो भूमिका निर्वाह गर्छ भनेर देशका जनतालाई बताउन खोजेका थिए। उनको यो कार्यक्रमको विषयलाई लिएर विपक्षी भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले पनि व्यंग्य गरेका छन्।

राहुलले ट्वीट गर्दै भनेका थिए, ‘नीट–जेईईका विधार्थीहरू परीक्षालाई लिएर चर्चा गर्न चाहन्छन्। तर, उहाँले खेलौनामाथि चर्चा गर्न थाल्नु भयो।’
प्रधानमन्त्री मोदीको ‘मन कि बात’ कार्यक्रमपछि अहिले भारतमा ‘ह्यास ट्याग स्टुडेन्ट् डिस्लाइक पीएम मोदी’ को ट्रेण्ड चलिरहेको छ। यस ‘ह्यास ट्याग’ मा विधार्थीहरू ‘मन कि बात’ कार्यक्रममा भइरहेको ‘डिसलाइक’ को ‘स्क्रिनसर्ट’ सेयर गरिरहेका छन्। 

भारतमा १–६ सेप्टेम्बरका बीच जेईई र १३ सेप्टेम्बरमा नीटको परीक्षा हुनुपर्ने थियो। विधार्थीहरूले कोरोनाको संकटका बीच परीक्षा स्थगित गर्न आवहान गरेका छन्। तर, सरकारले परीक्षा स्थगित गर्न अस्विकार गरेको छ।

प्रकाशित मिति: : 2020-09-01 06:41:00

प्रतिकृया दिनुहोस्