उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएपछि मेयरहरू असन्तुष्ट, आदेश सुधार गर्न माग

गृह मन्त्रालयको आदेशमा स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा केही खुकुलो बनाएकोमा यहाँका स्थानीय जनप्रनिधिहरूले असन्तुष्टि जनाएका छन्।

आफूहरूले दिएको सुझावविपरीत उपत्यकाका जिल्ला प्रशासन कार्यालयले विकास निर्माण लगायतका क्षेत्रमा समेत सहजता ल्याएको भन्दै उपत्यका नगरपालिका फोरमले बिहीबार विज्ञप्ति जारी गरेर असन्तुष्टि जनाएको हो।

उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठद्वारा बिहीबार संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, भदौ १८ गतेदेखि लागू हुनेगरी थपिएको निषेधाज्ञामा दिउँसो दुई बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसल–व्यवसाय सञ्चालन गर्न सकिने बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ।’

यसले निषेधाज्ञाको खासै अर्थ नराख्नै भन्दै उनीहरूले अत्यावश्यक वस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल्न सकिनेसम्मलाई कायम राख्दै अन्य समयमा पसल–व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न मागसमेत गरेका छन्।

काठमाडौं उपत्यकाका तीनै स्थानीय प्रशासनले भदौ ३ गते मध्यरातिबाट जारी भएको निषेधाज्ञा आगामी २४ गतेसम्मका लागि तेस्रो पटक लम्ब्याएका छन्।

यसअघि उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा निधेषाज्ञा कडा पार्नुपर्ने भन्दै कर्फ्यू लगाउनपर्नेसमेत निष्कर्ष निकालेको थियो।

बुधबार भएको उपत्यका फोरमको भर्चुअल बैठकले उपत्यकाको तीन जिल्लामा निषेधाज्ञाले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने देखिएकाले कर्फ्यूसम्म गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

यसका लागि उनीहरूले तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सुझावसमेत दिएका थिए।

निषेधाज्ञाले मात्रै नियन्त्रण हुन नसकेन निश्कर्ष निकाल्दै फोरमले निषेधाज्ञाको माथिल्लो तहमा लैजान कर्फ्यू नै लगाउनुपर्नेलगायतका सुझाव दिएको थियो। बिहान ९ बजेसम्म किनमेल गर्न पाउने भनेको कारण मान्छेहरू मर्निङ वाक र इभिनिङ वाक समेत गर्न थालेकाले थप संक्रमण बढेको भन्दै उनीहरूलाई रोक्न मात्र भए पनि कर्फ्यू लगाउनुको विकल्प नरहेको सुझाव दिएको थियो।

प्रकाशित मिति: : 2020-09-03 12:26:36

प्रतिकृया दिनुहोस्