प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएकाे छ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्न बैठक बस्न लागेकाे हाे।
बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्ने जानकारी गराएका थिए। यससँगै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन्। उनको यो अन्तिम मन्त्रिपरिषद् बैठक हुनेछ।
प्रधानमन्त्रीका एक सल्लाहकारले दिएको जानकारीअनुसार, अर्थमन्त्री खतिवडाले पदावधि सकिनुभन्दा एक दिन अघि राजीनामा दिन लागेका हुन्। मन्त्रिपरिषद् बैठकमा खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गर्ने छन्।
राजीनामापछि अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने तयारी छ।
प्रधानमन्त्री ओलीले तत्काल अर्थमन्त्री मात्र नियुक्त नगरी अन्य मन्त्रीहरुसहित मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्। त्यसैले नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्री हुन केही दिन अझै कुर्नुपर्ने छ।