ल्याबैपिच्छे फरक रिपोर्ट !

ललितपुर महानगरपालिका–२७ बस्ने एक युवती स्वास्थ्यमा समस्या आएपछि दुई महिनादेखि घरमा बसिरहेकी थिइन्। पत्थरीको शल्यक्रिया गरेर आराम गरिरहेकी उनी शरीरमा राखिएको पाइप निकाल्न केही दिनअघि वीर अस्पताल पुगिन्। अस्पतालले पिसिआर जाँच गरेपछि मात्र पाइप निकाल्न सकिने बताएपछि उनले वीरमै स्वाब दिइन्। पिसिआर रिपोर्टको पर्खाइमा रहेकी उनलाई गत आइतबार स्वास्थ्य मन्त्रालय र वडा कार्यालयबाट फोन गरेर कोरोना पोजेटिभ देखिएको जानकारी गराइयो। उनलाई घरमै सुरक्षित रूपमा बस्न भनियो।  

घरमै आराम गरिरहेकी उनलाई कोरोना पोजेटिभ देखिएपछि परिवारै तनाबमा प-यो। रिपोर्टप्रति विश्वास नलागेपछि उनले मंगलबार टेकुमा पुगेर पुनः पिसिआर परीक्षणका लागि स्वाब दिइन्। टेकु अस्पतालले बुधबार उनको रिपोर्ट नेगेटिभ आएको जानकारी गरायो। छोटो अवधिमा गरिएका दुई परीक्षणको रिपोर्ट फरकफरक आएपछि अन्योल भयो, जुन स्वाभाविक पनि हो। ‘पहिला रिपोर्ट पोजेटिभ आएको भन्दै सुरक्षा सतर्कता अपनाउन भनियो। विश्वास नलागेर पुनः परीक्षण गर्दा नेगेटिभ देखियो। यसले हामी अन्योलमा छौं,’ ती युवतीका बाबुले भने।  

पहिलो परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि बेचैन बनेको युवतीको परिवारले दोस्रो परीक्षणबाट नेगेटिभ रिपोर्ट आएपछि राहत महसुस गरेको छ। ‘सुरुमा कोरोना पोजेटिभ रिपोर्ट आएको टेलिफोनबाट जानकारी पाएपछि रातभर सुत्न सकेनौं, छोरी एउटा कुनामा, पत्नी एउटा कुनामा र म अर्काे कुनामा बस्यौं, किरियापुत्री जस्तै छुट्टाछुट्टै बस्यौं,’ उनले भने।  

छोरीको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि तनावमा परेका उनले सोह्र श्राद्धको तिथिमा श्राद्धसमेत गर्न नपाएको गुनासो गरे। ‘घरमै आराम गरिरहेकी छोरीको रिपोर्ट पोजेटिभ आएपछि हामीलाई विश्वास लागेन। त्यसमाथि हामी सचेत पनि थियौं। त्यसैले पुनः टेस्ट गरायौं। पहिलो रिपोर्टलाई विश्वास गरेको भए कति दुःख र तनाब भोग्नुपथ्र्याे होला ?’ उनले भने।

प्रकाशित मिति: : 2020-09-04 14:05:08

प्रतिकृया दिनुहोस्