बागलुङको ढोरपाटन नगरपालिका–५, ६, ७, ८ र ९ मा बुधवार राति भुजीखोलामा आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या १६ पुगेको छ भने २२ जना अझै बेपत्ता छन् ।
शनिवार थप २ जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको संख्या १६ पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । मृतकहरुमध्ये १३ जनाको शनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीमा ज्यान गुमाउनेमा ढोरपाटन वडा नं ९ का २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीया रिमाकुमारी घर्ती मगर, २६ वर्षीया केशमाया बिक, ११ वर्षीय मदन बिक, २२ वर्षीय जीवन बिक, ११ वर्षीय डल्ली बिक, ५ वर्षीया ज्योती पुन, ६ वर्षीय बिराज बिक, २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीय प्रेम पुन, १३ वर्षीया पुनी बिक, ६५ वर्षीय डोटी पुन र ४६ वर्षीय करबहादुर बिक रहेका छन् ।
तीन जनाको सनाखत हुन बाँकी रहेको प्रहरी निरीक्षक भण्डारीले बताए । शनाखत भएकाहरुको शव परिवारलाई हस्तान्तरण गरेको र तीन जनाको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।
बाढीले बगाएर अझै २२ जना बेपत्ता रहेको र नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेको प्रहरी निरीक्षक भण्डारीले बताए ।
बाढीले ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा ७३ घर पूर्णरुपमा क्षति पुर्याउँदा ४४६ जना विस्थापित भएका छन् भने वडा नम्बर ८ मा १० घर पूर्ण रुपमा क्षति पुर्याउँदा ७२ जना विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए ।
बाढीले ढोरपाटन–९ को लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघुजलविद्युत् आयोजनाको ४ ओटा भवन, सडक छेउमा पार्किङ गरेर राखेको एक ट्याक्टर, एक जीप र चार ओटा मोटरसाइकल पनि बगाएको प्रहरीले जानकारी दिएको छ ।
बाढी पीडितहरुलाई गृहमन्त्री रामबहादुर थापा सहितको टोली शुक्रवार र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सहितको टोली शनिवार घटनास्थल पुगेर राहत वितरण गरेका छन् ।
विस्थापितहरुलाई तत्कालका लागि खानको समस्या नभएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । उनले बाढी पीडितहरुका लागि संकलन गरिएको राहत एकद्वार प्रणलीमार्फत ढोरपाटन नगरपालिकाबाट वितरण गरिने व्यवस्था मिलाइएकोले राहत वितरण गर्दा नगरपालिकासँग समन्वय गर्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी न्यौपानेले बाढी प्रभावित क्षेत्रमा तत्काल घर बनाउने अवस्था नरहेकोले बस्ती नै स्थानान्तरण गर्नुपर्ने देखिएको बताए । उनले पीडितहरुको बस्ने खाने ठाउँ र उब्जाएर खाने ठाउँ पनि बाढीले बगाएकोले बस्ती स्थानान्तरण गर्नुपर्ने देखिएको जानकारी दिए ।