विष खुवाइएका पुटिनका आलोचक नभाल्नीको स्वास्थ्यमा सामान्य सुधार

रुसका विपक्षी नेता एलेक्सी नभाल्नीको स्वास्थ्यमा सामान्य रुपमा सुधार आएको छ।

खानामा रसायन मिसाएर दिएपछि बेहोस भएका नभाल्नीलाई उपचारका लागि हाल जर्मनीको एक अस्पतालमा भर्ना गरिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक मानिने नभाल्नीलाई उपचारका लागि अगष्ट २२ मा उपचारका लागि रुसबाट जर्मनी ल्याइएको थियो।

जर्मनीका रासायनिक हतियार विज्ञहरुले गरेको परीक्षणमा ४४ वर्षीय नभाल्नीलाई दिइएको खानामा सोभियतकालीन स्नायुसम्बन्धी तत्व मिसाएर दिइएको जनाएका छन्।

जर्मन सरकारले गत साता रुसमाथि उक्त काण्डको विस्तृत अनुसन्धान गर्न आग्रह गरेको थियो।

बर्लिनस्थित च्यारिटी अस्पतालले सार्वजनिक गरेको विज्ञप्तिमा नभाल्नीलाई कोमाबाट मेकानिकल भेन्टिलेटरमा सारिएको उल्लेख छ। तर नाभाल्नीमाथि रसायनको असर के कस्तो रहन्छ भनेर अहिल्यै भन्न नसकिने अस्पतालले जनाएको छ।

जर्मनीका अधिकारीहरुले गत साता नै नाभाल्नीमाथि नोभिचोक नामको रसायनबाट आक्रमण गरिएको जनाएका थिए।

बेलायती अधिकारीहरुले पनि रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरीलाई सन् २०१८ मा पनि विगतमा यही नोभिचोकबाट आक्रमण गरिएको बताएका छन्।

जर्मनी झैं बेलायत, संयुक्तराज्य अमेरिकाले पनि उक्त घटनाप्रति आपत्ति जनाएका छन्।

नभाल्नीका समर्थकले रुसका राष्ट्रपति भ्लादमिर पुटिनकै निर्देशनमा नभाल्नीलाई विष दिइएको आरोप लगाएका छन्।

आरोपहरु हास्यास्पद र गलत भएको रुस सरकारले बताएको छ। 

प्रकाशित मिति: : 2020-09-08 14:06:25

प्रतिकृया दिनुहोस्