विराटनगरमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगरमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा रहेको आइसोलेसनमा विराटनगर महानगरपालिका १९ मिलनचौक निवासी ४० वर्षीया महिलाको मृत्यु भएको हो।

उच्च रक्तचाप, हाइपोथाइराडिज्म, मोटोपनाको समस्या रहेको महिलाको बिहीबार बेलुका ७ बजेर १० मिनेटमा मृत्यु भएको चिकित्सक लक्ष्मीनारायण यादवले बताए। 

ती महिलामा गएको ५ दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको थियो।

‘स्वास्थ्य समस्यासँगै महिलालाई कोशी अस्पतालको आइसोलेसनमा हिजो दिउँसो सवा १ बजे भर्ना गरिएको थियो,’ डा यादवले भने, ‘आइसोलेसनमा भर्ना भएसँगै महिलामा समस्या देखिएपछि थप उपचारका लागि भर्ना गरिएकोमा केहीबेरमै मृत्यु भयो।’

यससँगै विराटनगर महानगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ। 

प्रदेश १ मा हालसम्म ४३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। जसमा १२ जना महिला र ३२ जना पुरुष रहेका छन्।

प्रकाशित मिति: : 2020-09-11 05:57:41

प्रतिकृया दिनुहोस्