बर्खाकी बैकिनी

असिनाले ताण्यो तुण्यो घाम लाग्यो टोलायो !
जति बर्षा भूण (घास) पलायो उत्ती मन डोलायो !!

बसन्तमा झकमक्क पालुवा पलाई सकेपछि बनपाखाहरूले हरियो च्यादर ओडिसकेका हुन्छन्।

बनपाखा र उब्जनी हुने मैदानहरू, लेक लोट्ने काट्याँ कुइरो र वर्षायामको सिमसिम झरीले दृश्य मनमोहक हुन्छ। वेशीको असारे काम सकेपछि बैकानहरु (पुरुष) रोजगारीको खोजीमा भारत भासिन्छन् भने बैकिनीहरु (महिला) लेकका उब्जनि हुने फाँटतिर लाग्छन्। अब यहाँ प्रायःजसो समान व्यथा र कथा भएका महिलाहरुको वर्षे कामको सिलसिलमा जमघट हुन्छ।

मकै, कोदो, आलु, जुनेलो, मार्स्या (लट्टे) लगायतका अन्नबालीको उब्जनि हुने मैदानमा सँगसँगै बस्तु भाउ राख्ने गोठ (छाना) पनि हुन्छन्। तर वर्षाको समयमा बस्तुभाउ चरिचराउको लागि त्योभन्दा पनि लेकतिर खर्क बनाएर राख्ने चलन हुन्छ। त्यहीँ भएर छानाहरू यो समयमा खाली हुन्छन्। यो ठाउँमा वर्षाकी बैकिनीहरु एकाबिहानै खाना खार्इ दिउँसोको लागि खाजासमेत बोकी गोडमेलको लागि लेकका मैदानतिर लाग्छन्। दिउँसो खाजा खानको लागि ओभानो छानामा जम्मा हुन्छन्।

खन्टी जसले विवाह लगतै श्रीमान गुमार्इ, माइती आमासँगै बसेकी थिइन्। खन्टीकी आमा झुसी पनि खन्टी पेटमा आएपछि सानै उमेरदेखि एक्लो जीवन विताउँदै आएकी थिइन्। खन्टी परिवारबाट एक्ली भए पनि साथीसंगी माँझ भने कहिलै एक्ली भइनन्। सबैले खन्टीको बाटो पर्खिरहन्थे। उसको उपस्थितिले बर्खाकी बैकिनीहरू हाँसेरै दिन काट्थे।

दिनभरि गोडमेल गरेर हिलोले प्रायः जसो सबै बैकिनीको खुट्टा हिलोले खाएको हुन्थ्यो। खन्टीको खुट्टाले हिउँदमा दोँचा (छालाको जुत्ता) पाए पनि बर्खामा कहिलै चप्पल पाएन। गोड्ने गडाबाट घरसम्म फचामफचाम हिलो फल्दै खन्टी घर पुग्थिन्। घर पुग्दा खन्टीकी आमाले पनि चुहुने घरमा फू-फू गर्दै आगो फुकिरहेकी हुन्थिन्। बल्ल-बल्ल वर्षाको फल्ने फर्सी पिँडालुलगायत पकार्इ फाँणो बनार्इ आलोकाँचो कोदाको रोटी पकाउँन्थिन्।

आगो फूक्दा फूक्दा लखतरान खन्टीकी आमाले सिगानसँगै फाणो मिसिँदै रोटी निल्थिन्। खन्टीका खुट्टा पाकेर फत्तक्क भएका छन्। खुट्टा कन्याएर रात बित्छ। खन्टीले दारिमका दाना आगोको भूङ्ग्रोमा सेकार्इ खुट्टामा लाउन्छिन्। वर्खाको पानी चुहिने छानो मुनी ढुसी परेको राडीपाखी ओडेर सुत्नु खन्टीको रहर पटक्कै होइन। खरले छाएको घर जति वर्षा चर्किदै जान्थ्यो, त्यति खन्टीको घर भिज्दै जान्थ्यो। दिनभरिको भिज्दै थाकेको ज्यान जे जस्तो ओछ्यान पाएपछि लठ्ठ निदाउँथी खन्टी।

एकाबिहानै नउठी सुख छैन खन्टीलार्इ। झिसमिसेमै उठी एकखुल्ने खाना (बिहानै खाने) खार्इ सधैझै दिनचर्या सुरू हुन्थ्यो खन्टीको। निगालोको चोयाले भोजपत्र राखी बुनेको मुग्नु ओड्दै खन्टी गोडमेल कार्य सुरू गर्छिन्। मनका बिरह विसाउने साहारा खोज्दै ठाडीभाकामा डेउडा गीत गाउँदै दिन वित्छन् खन्टीका।

दिन बाइगया गन्दागन्दै मैना बाइग्या घन्की! 
न माइतकी न पोइलकी न बाजका मन्की !!

हजारौं बिरह र विलौनाको बन्दना हो यो ठाडीभाका खन्टीको धन्य भगवान विवाह गरी पोइलाघर गएकी छोरी दुई/तीन दिनमै सिउँदो पखाली माइतीघर वस्नुको पीडा।

खन्टी महिनावारी भर्इ छाउकुल्ला (रजस्वला भएकी महिला बस्ने घर) बस्छे। रगतका टाटोले भिजेको धोती सहित चार पाँच दिन विताउँछे। खन्टीसँगै गाउँभरिका महिला महिनावारी हुँदा त्यहीँ बस्छन्। जहाँ रातभरि महिला मात्र आफ्नै दु:ख सुखका मीठा बात गर्छन्। घर बस्दा सासु, ससुरा, देवर, नन्द, श्रीमान् सबैको झन्झट थामेर बसेकी महिलाहरू महिनावारी हुँदा पकाएको खाना थापेर मात्र खान्छन् र तिनकै विरूद्ध मेरी सासु यस्तीउस्ती भन्दै कुरा काटी बस्छन्। जो पीडादायक समयमा पीडा बिर्सिने सहज मार्ग बन्छ छाउकूल्लो। खन्टीको पालो आउन्छ उसको आमा बाहेक कोही छैन। उसकी आमाले बैँशमै वुवा गुमाउनु र आफूले श्रीमान गुमाउनुको बेदना पोख्छिन्।

छाउ भएपछि चारदिनको हणमुन्टो धुने (नुवाइधुवाइ) दिन सबै साथीसङ्गीले सावुन-सरफ प्रयोग गरी चोखिन्छन् तर खण्टी भने पिना र रिठोले रजस्वलाको रगत र पीडा पखाल्छिन्। अरू साथीसङ्गीले बम्मैवाला बनारसी धोती पहिरँदा खण्टी दुई पाथी कोदोले परदेशी ढोलसँग साटेको वर्षौ पुरानो गमनको गुन्यूमा गुटमुटिन्छिन्। वर्षाको झरीले भिजाउँदै गर्दा कतै-कतै छोडेर ओभानो रहेको शरीरको भाग पनि साथीसङ्गी र आफ्नो जीवन सापेक्षिक तुलना गर्दै आँसुले भिजाउँछिन्।

मैदानमा फल्ने अन्नबाली सँगै वरिपरिका वनपाखामा लटरम्म कुइरो देखिन्छ। खोला सुसाउँछ। लेकमा लटरम्म लाटिरहने कुइरो भित्रबाट वनपाखामा वर्षे चरीहरू पनि घरदेशी र परदेशी जीवनसाथीको व्यथा सहितको गीत गाउने गर्छन्। खन्टीको घरमा मध्य वर्षामा नुन सकिन्छ।

खन्टीकी आमाले हिउँदमा भोट्या/साउकाले ल्याएपछि नुन राखी तिरौँला भन्ने सर्तमा छिमेकीबाट पैँचौ माग्छिन्। उता गोड्ने गराहरुमा भने ‘अहिल भोट्या भोटै रैगो बझाङ्ग नुन दिन्या/क्या होल्लाई बैरीको खेल जीवन नहुन्दिन्या’ भनी खन्टी देउडा गीतका ठाणी भाका (देउडा एकल गायन) गुन्जाउँछिन्। यो भूगोलमा हिउँदको समयमा योभन्दा पनि उपल्लो भूगोलका मानिसहरुले (भोट्या/साउका) भेडा च्याङ्ग्रामा नुन बोकाएर ल्याउने र रातो मार्सी चामलसँग बरोबर कुर्रा पाथीमा साट्ने चलन छ। यसरी नुन पैचो मागेकी खन्टीकी आमालाई अणिमु-पणिमू (पर्मापरेली) गरी भए पनि नुनको गुन तिर्नुपर्छ।

जब भदौको अन्त्य हुन्छ छ्याङ्ग आकाश खुल्दै जान्छ तव महिलाहरुको वर्षाभरि भिजेको ज्यान ओसिन्छ, तङ्रिन्छ, जुकाले वर्षाभरि चुसेको ज्यान हिलै माटोले खाएका खुट्टाका पैतालामा खाटा बस्दै आउँछन्।

सिकसिक लाग्ने बाटो र खेतका गराहरु ओभानु हुँदै जाँदा आकाश पनि त शरदको संकेत गरी कञ्चन देखिन्छ। त्यसपछि वर्षाकी वैकिनीहरू पनि ओभाना हुँदै आउँछन् तर त्यही वर्षा झै रोग, भोक, शोक र अभावका पीडा भने खन्टीहरूमाथि सधै वर्सिरहन्छन् जुगौं-जुगसम्म।

प्रकाशित मिति: : 2020-09-12 17:52:15

प्रतिकृया दिनुहोस्