भूमिगत पहिराले फगाममा उठीवास

सांकेतिक तस्बिर

अन्नपूर्ण गाउँपालिका –३ फगामकी ६७ वर्षीया  लालमती थापा दुई सातादेखि अस्थायी टहरामा बस्दै छन्। गाउँदेखि तलबाट भूमिगत पहिराले घर चिरा पर्ने र जमीन भासिने समस्या बढेपछि थापाको परिवार गाउँ छेउको पाखामा त्रिपालको टहरा बनाएर बसेका छन्। थापासँगै फगाम गाउँका १७ घरपरिवारको पहिराले उठीवास लगाइसकेको छ। 

साउनदेखि नै गाउँमा स्थानीयवासीको उठीवास शुरु भएको थियो। 'घरमा बस्न सक्ने अवस्था छैन, खेती गरेको जमीन सबै बग्न थालेको छ, रातमा पानी प¥यो भने बस्ने ठाउँसम्मै चिसो आउँछ, अब कहाँ गएर ज्यान जोगाउने हो सोच्नै सकेका छैनौँ' थापाले भने।

यहाँका ७४ घरधुरीको बसोबास रहेको यो गाउँ पूर्ण रुपमा पहिराको उच्च जोखिममा परेको स्थानीयवासी दुर्गादत्त सुवेदीले जानकारी दिए। उनका अनुसार १७ घर पूर्ण रुपमा विस्थापित भइसकेका छन्। पहिराका कारण थप नौ घर उच्च जोखिममा र ३८ घरमा सामान्य क्षति पु¥याएको सुवेदीले बताए।

कालीगण्डकी नदीको कटान र बेनी–जोमसोम सडकखण्डका कारण चलेको भूमिगत पहिराले नदीको किनारदेखि बस्तीदेखि माथिको भिरसम्मकै अधिकांश जमीन धाँजा परेर चिरिएको छ भने घरहरु चर्किएर भत्कने अवस्थामा पुगेका छन्। घर भत्कने अवस्थामा पुगेपछि नजीकका स्थानमा आश्रय लिनुपर्ने अवस्था आएको बेनी नगरपालिकाको वडा सदस्यसमेत रहेकी स्थानीयवासी योमायाँ पाइजाले जानकारी दिए।

'नदीले हरेक वर्ष कटान गरिरहेको छ, सडकले पहिरो नियन्त्रण गर्न कुनै पूर्वाधार बनाएको छैन, अहिले त गाउँ नै उठीवास हुने अवस्था आयो' उनले भने। यस गाउँमा विगत एक दशक अघिको पहिराले छ परिवार विस्थापित भएका थिए। 

प्रकाशित मिति: : 2020-09-13 14:57:32

प्रतिकृया दिनुहोस्