दिनेश सञ्चार गृहका पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ कैलालीले धनगढीमा प्रदर्शन गरेको छ। पीडित पक्षले कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिँदा समेत प्रहरीले कसैलाई पक्राउ नगरेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलित पत्रकारहरुले धनगढीको पार्कमोडबाट जिल्ला प्रशासनसम्म र्यालीको आयोजना गरेका छन्। यसअघि शनिबार नै पत्रकार महासंघले घटना भएको दुई दिनसम्म आरोपित समात्न नसकेको भन्दै विरोध जनाएको छ। उसले आजसम्म आरोपित पक्राउ नगरिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।
शुक्रबार दिनेश संञ्चार गृहको कार्यालयमा पुगेका १५/२० जनाले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए। समाचारको विषयमा आपत्ति जनाउँदै उनीहरुले व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहलाई पनि हातपात तथा दुर्व्यवहार गरेका थिए।