कविताः चाहिन्न यो एमसीसी!

छन्द-शार्दूलविक्रीडित

विदुर अधिकारी

रामपुर,चितवन

के हो एम्‌सीसी यो बडो गजबको,हल्ला चल्यो बेसरी
यस्को कार्य सबै बुझौं न जनता,चल्ने छ यो के गरी
देखाई अति लोभ लालच बडो,नेपाल भित्रै पसी
आफ्नो देश खुदै बनाउन जुटौँ,चाहिन्न यो एम्‌सीसी
. (१)
आफ्नो स्वार्थनिमित्त यो मुलुकका,नेता गिरे काँतर
माछा पर्दछ हातमा यदि भने,गर्छन् नि हस्ताक्षर
कोशीको जल बेचियो विगतमा काली बिके गण्डकी
आफ्नो देश खुदै बनाउन जुटौँ, चाहिन्न यो एम्‌सीसी
. (२)
हाम्रो मूल विधान मान्य नहुने,के कामको एम्‌सीसी
हाम्रो राज्य विधान कुण्ठित हुने,के काम त्यो उन्नति
सारा यो बिजुली विकास गरिने,भन्दै फलाक्छौ कति
आफ्नो देश खुदै बनाउन जुटौँ,चाहिन्न यो एम्‌सीसी
. (३)
नेपाली जनता स्वयम् कुशल छन्,तिम्रो सुरक्षा दिन
विश्वासै यदि छैन यो मुलुकमा,पर्दैन भो आउन
प्यालेस्टाइन अन्य ती अरबमा, पार्दैछ यल्ले खति
आफ्नो देश खुदै बनाउन जुटौँ,चाहिन्न यो एम्‌सीसी
. (४)
अर्काको सहयोग मात्र लिइँदा,गिर्ने छ यो गौरव
सिक्दै सीप स्वयम् जुटे मुलुकमा,बन्नेछ है उत्सव
भ्रष्टाचार समाप्त पार्न सकिए,थुप्रिन्छ पैसा यहीँ
आफ्नो देश खुदै बनाउन जुटौँ,चाहिन्न यो एम्‌सीसी
. (५)
हेर्दा यो इतिहास विश्वभरमा,घाँडो छ यो एम्‌सीसी
के होला भन दास भैकन यहाँ,चिल्ला घरैमा बसी
कर्के नेत्र नला म दिन्न सहजै,झर्ना नदी सापटी
जा जा जा अब लौ नआ तँ कहिल्यै,चाहिन्न यो एम्‌सीसी
. (६)
 

भरतपुर महानगरपालिका-१९
रामपुर,चितवन

प्रकाशित मिति: : 2020-09-13 22:42:48

प्रतिकृया दिनुहोस्