प्रदेश-२ को कोरोना विशेष अस्पतालमै आधारभूत सुविधा अभाव, भद्रगोल व्यवस्थापन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितहरूको संख्या ५५ हजार ३२९ पुगेको छ।यीमध्ये १५ हजार ३९३ जना सक्रिय संक्रमित छन्, भने ३६० जनाको मृत्यु भइसकेको छ। 

२९ भदौसम्म कुल सक्रिय संक्रमितमध्ये २०८ जनाको आईसीयू र भेन्टिलेटरमार्फत उपचार भइरहेको छ। उनीहरू कोरोनाका सिकिस्त बिरामी हुन्। 

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार प्रदेश–२ मा सक्रिय संक्रमितको संख्या एक हजार ९८७ छ।  तर प्रदेश–२ कोरोना विशेष अस्पतालमा अझैं पनि पर्याप्त जनशक्ति, सरसफाई लगायतको आधारभूत सुविधाको अभाव छ भने अस्पतालको व्यवस्थापन भद्रगोल अवस्थामा छ। 

प्रदेश–२ कोरोनाको हटस्पटको रुपमा चिनिन्छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार २९ भदौसम्म प्रदेश–२ मा मात्र ११९ जनाको मृत्यु भइसकेको छ। 

कोरोना संक्रमितको मृत्युको कारण उनीहरूको जटिल स्वास्थ्य अवस्थासँगै उपचारका लागि चाहिने सेवा तथा सुविधा पनि कारक देखिएको छ। 

२८ भदौमा वीरगञ्ज महानगरपालिका–१० घर भएकी किरणदेवी कर्णको गण्डक अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण मृत्यु भयो।

१२ भदौमा श्वासप्रश्वासमा समस्या भएकी उनलाई २२ भदौमा गण्डक अस्पतालले कोरोना परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो। 

फोक्सोमा समस्या देखिएकी उनलाई निरन्तर अक्सिजन चाहिन्थ्यो। तर २२ भदौ राति ११ बजे अक्सिजन दिएपछि २ बजे अक्सिजन दिन स्वास्थ्यकर्मी नआएका कारण उनको मृत्यु भएको आफन्तको आरोप छ। 

राति दुई बजे अक्सिजन दिन स्वास्थ्यकर्मी नआएपछि उनको अक्सिजनको अभावमा तीन बजे राती ज्यान गएको आफन्तहरू बताउँछन्। 

प्रकाशित मिति: : 2020-09-14 23:58:48

प्रतिकृया दिनुहोस्