सोचेजति धान फल्दैन यसपालि

आयोमेल

काठमाडौँ

यम बम

लकडाउनका बेला गत वर्ष चैतमा घर फर्किएका धोजबहादुर विक फेरि भारतको पुना जाने तयारीमा छन्।

कैलाली भजनी–८ काँढाढिकका विक रोपाइँ गर्न घर फर्किएका थिए। जेठ ३० मै भित्रिएको मनसुनले पर्याप्त पानी पारेपछि उनले आफ्नो दुई बिघा खेतमा रोपाइँ गरे।

तर, साउन १४ गतेको बाढी उनको रोपो खेतमा मात्र होइन घरभित्रै पस्यो। घरको भित्ता भत्कायो। हुलाकी सडकमा बास भयो।

‘काँढा नदी उर्लेर आएपछि रोपो धान बगाएर लग्यो, अहिले खेतमा हिलोमात्र छ,’ धोजकी श्रीमती कोकिलाले आयोमेलसँग भनिन्, ‘अहिले त राहतले गर्जाे टार्दैछौं। पछि कसरी गुजारा गर्ने होला?’

चारजनाको परिवार पाल्न धौधौ हुने देखिएपछि धोज कोरोना कहरकै बीच भारत जाने सुर कसेका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट ‘नेपाली जनतालाई भोकै बस्न नदिन सरकार लागिपरेको’ भाषण छाँट्छन्। 

गाउँका नागरिक छाक टार्न धौधौ हुने भएपछि भारतको बाटो नापिरहेका छन्। 

सहरका मजदुरलाई भोकभोकै हुँदा पनि सरकारले नदेखेपछि टुँडिखेल पुग्नुपरेको अर्काे तीतो यथार्थ छँदैछ।

काँढाढिककी मोतिदेवी विकको पाँचजनाको परिवार छ। उनको जीविकोपार्जनको आधार नै दुई कट्ठा खेत हो। 

तर, साउने झरीसँगैको बाढीले रोपोधान हप्तौंसम्म डुबायो। पानी नघट्दै धान ओइलियो। 

कक्षा १२ मा अध्ययनरत उनकी छोरी हरिकला भन्छिन्, ‘अघिल्ला दुई वर्ष त धान राम्रै फलेको थियो। यो वर्ष बाढीले बगायो। मजदुरी गर्न पनि काम पाइने छाँट छैन।

उनको भनाइमा अघिल्ला वर्ष छरछिमेकका किसानका धान काटेर गुजारा चलाउने ठाउँ हुन्थ्यो। 

५५ घरपरिवार रहेको यो गाउँका हरेकजसोको धानबालीमा क्षति पुगेको छ। अब आसा गहुँबालीको छ। 

कैलालीको दक्षिणपूर्वी क्षेत्र साउनमा कहरमा रह्यो। 

प्रकाशित मिति: : 2020-09-15 15:35:43

प्रतिकृया दिनुहोस्