पाकिस्तानमा ६ महिनापछि स्कुल खुला

एजेन्सी

इस्लामाबाद

पाकिस्तानमा ६ महिनापछि स्कुल खुला भएको छ। प्रधानमन्त्री इमरान खानले बालबालिकालाई सुरक्षित राख्नु हामी सबैको सामूहिक जिम्मेवारी भएको भन्दै सरकारले लागु गरेको कोरोना भाइरसविरूद्धको नियमलाई कडाईंका साथ पालना गर्न आग्रह गरेका छन्। 

पाकिस्तानमा १५ मार्चदेखि स्कुल बन्द भएको थियो। स्कुल खोल्नका लागि कडा नियम लागु गरिएको छ। नियम पालना नगर्ने स्कुलविरूद्ध कडा कानुनी कार्यवाही हुने सरकारले यसअघि नै बताइएको छ। 

शिक्षा मन्त्रालयले दिएको जानकारी अनुसार पहिलो चरणमा ९ र १० कक्षादेखि माथिका स्कुल, कलेज र विश्वविधालय खुला गरिएको छ। प्राइमरी र सेकेन्डरी स्कुल सेप्टेम्बर महिनाको अन्त्यसम्म खोल्ने तयारी भएको मन्त्रालयले जानकारी दियो। 

सोमबार प्रधानमन्त्री खानले भनेका थिए, ‘भोलिदेखि लाखौं केटाकेटी पुनः स्कुल जानेछन्। यो हामी सबैको सामूहिक जिम्मेवारी हो, उनीहरूलाई सुरक्षित राख्ने। त्यसैले सबैले नियमको पालना गरौं।’

पाकिस्तानमा कोरोनाबाट हालसम्म तीन लाखभन्दा बढी मानिस संक्रमित भएका छन्। यहाँ ६ हजारभन्दा बढीको निधन भएको छ।
 

प्रकाशित मिति: : 2020-09-15 19:00:59

प्रतिकृया दिनुहोस्