विशाल भवन, अनि भवनको पाँचौं तल्लामा बैंक। जहाँ मलाई जागिरको लागि अन्तर्वार्तामा बोलाईएको थियो। अहिलेसम्म घरमा सामान्य काम गरेकोबाहेक बाहिर कतै काम गरेको अनुभव थिएन मसँग। केही गरी यो जागीर पाएँ भने यो नै मेरो पहिलो काम हुनेछ।

लिफ्टमा पसेर पाँच नम्बर दबाएँ। लिफ्ट पाँचौ तलामा पुगेर टक्क अडियो। लिफ्टबाट बाहिर निस्केको त ‘ओ माई गड’ हेरेको हेर्‍यै भएँ। कति सुन्दर ठाउँ। ढोकामा छुँदा पनि दाग लाग्ला झैं। वरिपरी फूलै फूलले भरिभराउ गमला अनि स- साना सजाईएका मूर्तिहरू।

रिसेप्सनमा भर्खरै सोह्र सत्र वर्षकी राम्री केटी बसेकी थिईन्। मेरो मनले अड्कल काट्यो भर्खर प्लस टु सकेर जागिर खान आएकी होली। उसलाई बोलाएँ, ‘एक्स क्यूज मी मलाई यहाँ अन्तर्वार्ताको लागि बोलाईएको थियो।’ मलाई माथिदेखि तलसम्म हेरेपछि उसले भनी, ‘एकछिन यहीँ वेट गर्नुहोस् न म्याम, सर अरूको अन्तर्वार्ता लिँदै हुनुहुन्छ।’ म केही नबोली उसले ईशारा गरेको कुर्सीमा गएर बसेँ। खै कति जनाले यो जागिरको लागि एप्लाई गरेका होलान् कुन्नी। वेटिङ रूममा त थुप्रै मानिस देखेँ। करिव दश मिनेट जति पर्खेपछि रिसेपसनिस्टले मेरो एकाग्रतालाई विथोल्दै भनिन्, ‘म्याम हजुर भित्र जानुस्।’

म डराई डराई भित्र गएँ। मुख पूरै रातो भएको थियो। तर भित्र पसेपछि मेनेजरले सोधेका सबै प्रश्नको उत्तर दिएँ। केहीबेरपछि उनले भने, ‘यो भन्दा पहिले कतै काम गर्नुभएको थियो?’ मैले हिच्किचाउँदै जवाफ दिएँ, ‘छैन सर।’ उनले अलि रुखो स्वरमा भने,‘काम गरेको अनुभव नै नभएपछि यहाँ कसरी काम गर्नुहुन्छ?’ यसपटक डर लाग्न छोडेर रीस उठ्यो मलाई अनि मैले पनि उसैगरी भनिदिएँ, ‘काम गर्ने मौका नै नदिएपछि अनुभव कसरी बटुलौं सर?’ मेरो कुरा सुनेर उनी अवाक भए। अनि मुस्कानसहित भने, ‘वेल सेड आईएम ईम्प्रेस्ड। तपाईँ भोलिबाटै काममा आउन सक्नुहुनेछ। तर एक महिना तपाईले आफ्नो डिपार्टमेन्ट हेडसँग तालिम लिनुपर्नेछ।’ उनको कुरा सुनेर मेरो मुहारमा अनौठो किसिमको चमक आयो। मैले उनलाई झुकेर धन्यवाद दिएँ। उनले त्यसपछि आफ्नो फोनको सेट उठाएर कसैलाई फोन गरेर बोलाए। उनकै आदेशलाई सिरोपर गर्दै कोही केटा उनको रूममा आयो। मेनेजरले मतिर ईशारा गर्दै भने, ‘उहाँ हुनुहुन्छ आध्या बस्नेत।’

मैले मेनेजरले देखाएको केटातिर फर्कें। उसलाई हेरेपछि मैले आँखा झिम्काउनै बिर्सें। कति राम्रो केटा। गोरो अनुहार अग्लो कद। ओहो वर्णन गर्नलाई कुनै शब्दै थिएन मसँग। मैले एकटकले हेरेको देखेर उसले सोध्यो, ‘आर यू अलराईट?’ मैले झस्किदैं आत्तिएर भनेँ, ‘यस आई एम ओके।’ उसले आफ्नो हात अगाडि बढाउदै भन्यो ‘म यहाँको डिपार्टमेन्ट हेड नवीन खड्का।’ उसँग हात मिलाउँदा मेरा हातहरु काँपे। कुनै केटासँग हात मिलाएकै पहिलो अनुभव थियो मेरो त्यो।

त्यो दिन काम पाएको भन्दा पनि मेरो अफिसको डिपार्टमेन्ट हेडको पर्शनालिटी सम्झेर म गदगद भएँ।

घर पुगेर ममिलाई भनेँ, ‘ममि मैले मेरो सपनाको राजकुमार भेटें।’ खाना पकाउँदै गर्नुभएकी मेरी ममीले मलाई देखेर आश्चार्य मान्दै सोध्नुभयो, ‘हैन के भनेकी यो एक्कासी? को भेट्यौ एकै दिनमा?’ मैले ममीलाई सम्झाउँदै भनेँ ,’ममी पहिलो कुरा आज मैले जागिर पाएँ अनि दोस्रो कुरा मैले मेरो राजकुमार भेटेँ।’ ममीले अलि झर्को मान्दै भन्नुभयो, ‘विवाह गर्ने उमेर भईसक्यो। तिम्रो साथीहरू सबैले घरजम गरिसके। सबैजना आमा बनिसके। तिमीलाई चाहिँ देखाएको केटा कोही मन पर्दैन।’ मैले ममीलाई सम्झाउँदै भनें, ‘पिर नगर्नु न ममी भर्खर त कोही भेट्दैछु।’ ममीले अलि गम्भीर भएर भन्नुभयो, ‘कसरी स्योर भएर भन्न सक्छौ तिमी? ऊ म्यारिड पनि त हुन सक्छ।’ ममीको कुरा सुनेर एकछिन अगाडिसम्म आकाशमा उडेको मनले आकस्मात धर्तीमा अवतरण गर्‍यो। मैले उस्तै ढुक्कसँग भनिदिएँ, ‘ह्या ममी पनि शुभ शुभ बोल्नुस् न के।’ ममीलाई त भनिदिएँ शुभ शुभ बोल्नुस् भनेर तर म आफैंलाई कहाँ थाहा थियो र उसको बारेमा।

मैले हतारहतार मोबाईलमा फेसबुक खोलेँ अनि उसको नाम सर्च गरेँ। उसको प्रोफाईल खोलेर हेर्न थालेँ। स्टाटस सिंगल, होम टाउन पोखरा। यति मात्रै लेखेको थियो। तर उसको फेसबुकमा उसको सिंगल फोटो बग्रेल्ती थिए। सबै फोटो एकएक गरेर हेरेँ। वाफ् रे! भेट्दा जति राम्रो थियो त्यो भन्दा राम्रा राम्रा फोटाहरु थिए उसको फेसबुकमा। ठ्याक्कै मोडल जस्तै।



एक मनले भन्यो, ‘ढिलो नगर् आध्या भनिदे आफ्नो मनमा लागेको कुरा।’ अर्को मनले फेरि भन्यो, ‘हैन हैन म हतारिनु हुँदैंन मैले केही समय लिनैपर्छ, उसलाई बुझ्नैपर्छ। अचानक आँखा अगाडि वर्षौ पूरानो घटेको घटना आयो।

***

‘ल ल जन्ती आईपुग्नै आटेँ। अब धेरै समय लाग्दैन रे हिँडीसकेछन् उताबाट,’ काकीले अत्तालिदैं भन्नुभयो। काकीले नै खोज्नुभएको केटासँग मेरो विवाह हुँदै थियो। उहाँको आफन्त पर्नेको छोरा रे। काकीले ल्याउनुभएको भनेपछि ड्याडी र ममीले दोहोरो प्रश्न केही गर्नुभएन।

भेटेको एक महिनामै हाम्रो विवाह पक्का भयो। केटासँग फोनमा कुरा पनि भयो। उसको बोली पानी परेपछिको बाटो जस्तै चिप्लो थियो। मलाई उसको बोली सुनेर पक्कै केही गडवड छ जस्तो लाग्थ्यो। होइन भने चाहिनेभन्दा बढी नम्र को हुन सक्छ र। संस्कृतमा एउटा भनाई नै छ नि ‘अधिक्त नमनम् धूर्त लक्ष्यणम्।’ अर्थात् चाहिने भन्दा बढी झुक्नेको लक्षण राम्रो हुँदैंन।

 मैले यो कुरा ममी ड्याडीलाई बुझाउन नखोजेको पनि होइन। तर उहाँहरुले बुझ्ने कोशिश नै गर्नुभएन। किनकी ड्याडीलाई आफ्नो भाइ र बुहारीप्रति यति धेरै विश्वास थियो कि उहाँ काका र काकीको विरुद्धमा एक शब्द पनि सुन्न चाहनुहुन्थेन। मैले केही भनिहालेँ भने उहाँले नम्र भएर सम्झाउँदै भन्नुहुन्थ्यो, ‘ऊ तिम्रो काकी हो छोरी उसले तिम्रो बारेमा नराम्रो कसरी सोच्न सक्छे र?’ मैले हार मानेर विरोध गर्न छोडेँ।

विवाहको दिन काकीले जन्ती आईपुग्नै लागे भनेको एक घण्टासम्म पनि जन्ती आएनन्। पण्डित बाजे कराउन थाले, ‘लौन हजुर साहित नै जान आँट्यो जन्ती किन नआईपुगेका होलान्।’ त्यो दिन एक घण्टा, दुई घण्टा हुँदैं रात पर्‍यो तर जन्ती आएनन्। जन्ती नआएपछि विवाह भोज खान आएकाहरू अध्यारो मुख लिँदै आफ्नो घर फर्किए।

बेलुका समाचार हेरेपछि मात्रै थाहा भयो मसँग विवाह गर्न लागेको केटालाई चेलिबेटी बेचबिखनमा संलग्न रहेको आरोपमा पुलिसले समातेको रहेछ। त्यति मात्रै कहाँ हो र मेरो आफ्नै काकीले उसको बारेमा सबै थाहा हुँदाहुँदै पनि ऊसँग पैसा लिएर मेरो विवाह गरिदिन लाग्नुभएको कुरा समेत पुष्टि भयो।

यो सब कुरा तब मात्रै थाहा भयो जब ड्याडी केटालाई समातेर लगेको पुलिस स्टेशन रातारात हतारिएर सत्य पत्ता लगाउन पुग्नुभएको थियो। आफूले सबैभन्दा बढी विश्वास गरेको आफ्नो भाइ, बुहारीबाट धोका पाएपछि डयाडीले उहाँहरुसँग सम्बन्ध नै तोडिदिनु भयो। त्यसपछि ड्याडीले मेरो विवाह एकदम बुझेर सोचेर गर्ने निर्णय गर्नुभयो।

ममीसँग म धेरै नै मिल्थेँ। उहाँसँग सबैकुरा सेयर हुन्थ्यो। उहाँलाई मैले नवीनको बारेमा पनि भनिदिएँ। उसको फेसबुक हेरेर यति कुरा थाहा पाए कि ऊ सिंगल हो। बैंकमा उसँग तालिम लिँदा र सँगै हिँड्दा उसलाई बुझ्ने मौका मिल्यो। तर मैले उसको वैवाहिक जीवनबारे सोध्ने हिम्मत गर्न सकिनँ। न त अफिसमा काम गर्ने अरू कसैलाई नै सोध्न सकेँ। के होला उसको वास्तविकता? अविवाहित? डिभोर्स? कि प्रेममा धोका? कतै मलाई जस्तै ठूलो धोका त भएको होइन उसलाई पनि? खै के हो नसोधी नहुने भयो।

नवीन एकदम नम्र बोल्थ्यो। मलाई नजानेको कुरा मायालु पाराले सिकाउँथ्यो। उसको मुहारमा मैले कहिल्यै पनि क्रोध देखिनँ। नजानेको कुरा हजार पटक सोध्दा पनि उसले झर्को नमानी जवाफ दिन्थ्यो। म उसको यस्तै बानीले प्रभावित हुँदैं गएँ। म ऊ सँग अफिसमा  त्यति बोल्न सक्दिनँ थिएँ। अफिसमा हामीलाई एकअर्कासँग गफ गर्ने मौका पनि मिल्दैन थियो। त्यसैले म ऊ सँग प्रायः फेसबुकमै कुरा गर्थेँ। तर ऊ मैले पठाएको म्यासेजको रिप्लाई मात्रै दिन्थ्यो। खासै बोल्थेन। हुन त उसको स्वभाव नै त्यस्तो थियो धेरै नबोल्ने अनि काममा मात्रै ध्यान दिने। तर पनि म ऊ सँग विभिन्न वाहनामा बोलिरहन्थेँ।

काम गर्न थालेको लगभग एक वर्षपछि मैले उसलाई शनिबार बिदाको दिन पारेर भेट्न आग्रह गरेँ। उसको र मेरो पार्कमा भेट्ने कुरा भयो। मैले उसलाई भेटेर मेरो बारेमा सबै डराई डराई भनेँ। नेपाली समाज हो उसले केही भन्ने पो हो कि भनेर टेन्सन पनि भयो। मेरो कुरा सुनेर उसले केही प्रतिक्रिया जनाएन। मैले घचघचाउँदै सोधेँ, ‘किन केही नबोलेको बोल न।’ उसले गम्भीर हुँदैं भन्यो, ‘मेरो कुनै व्यवहारले तिमीलाई मैले मन पराउँछु जस्तो लागेको भए म त्यसको लागि माफी चाहन्छु तर.....” बोल्दा बोल्दै ऊ रोकियो। ‘तर के भन न?’ उसले अलि अक्मकिदैं भन्यो, ‘म तिम्रो सोचाई भन्दा फरक छु। म जस्तो देखिन्छु त्यस्तो छैन। अरूको नजरमा म पुरूष नै हुँ। जन्मिदा पनि म पूर्ण रुपमा स्वस्थ्य छोरा नै भएर जन्मेको थिएँ। तर... म मा परिवर्तन आउँदै गयो। बिस्तारै बिस्तारै मैले यो बुझ्दै गएँ कि मभित्र महिलामा हुनुपर्ने सम्पूर्ण गुण छ। मैले जानेर बुझ्ने भएदेखि म पुतलीहरू खेल्न रूचाउन थालेँ, अमिलो मनपराउन थालेँ। म केटाहरूसँग रमाउन थालेँ। म केटीहरूसँग बोले पनि उनीहरुप्रति कुनै फिलिङ्स कहिल्यै आएन। मलाई माफ गरिदउ आध्या मेरो व्यायफ्रेण्ड छ। समाजले मेरो र मेरो व्यायफ्रेण्डसँगको सम्बन्ध नस्वीकार्ला तर मलाई केटीसँग विवाह गरेर घरजम गर्ने पटक्कै रुचि छैन।’

उसको कुरा सुन्दासुन्दै मेरो वरपर अन्धकार छाईसकेको थियो। मैले लामो सास फेरेँ। पहिला त्यस्तो धोका पाएर पहिलो पटक कसैलाई यति धेरै माया गरेकी थिएँ। तर यो सब के भयो? मैले पहिलोपटक उसलाई भेट्दाखेरी जस्तै आँखा झिम्काउन बिर्सेँ। मेरो मुखबाट अन्यासै निस्कियो, ‘ओ माई गड।’

प्रकाशित मिति: : 2020-09-19 09:20:58

प्रतिकृया दिनुहोस्