उज्वल विक्रम थापा समाजसेवा रत्न अलङ्कारबाट विभूषित

समाजसेवी उज्वल विक्रम थापालाई समाजसेवा रत्न अलङ्कारबाट विभूषित भएका छन्।

संविधान दिवसको अवसरमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदकबाट विभूषित गरिएको जारी सूचनामा जनाइएको छ। 

उनलाई गरिब, दुःखी, बिरामी, असहायको सेवामा पुर्याएको योगदानको कदर गर्दै राष्ट्रपति भण्डारीले सो अलङ्कारबाट विभूषित गरिएको हो।

समाजसेवी थापाले विगत एक दशकभन्दा लामो समयदेखि समाजसेवा गर्दै आएका थिए। उनले पछिल्लो छ वर्षयता तेजाब आक्रमण पीडितको उद्दार, उपचार र कानुनी सहायताका साथै जीविकोपार्जनमा समेत उल्लेख्य योगदान दिएका छन्।

पछिल्लो समय उनले देशमा मात्र नभएर भारतमा तेजाब आक्रमणमा परेकी पवित्रा कार्कीलाई १५ लाखबढी भारु सहयोग संकलन गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।

उनकै पहलमा तेजाब आक्रमणमा परेका पीडितहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २५ गते सामूहिक रुपमा छलफल गर्दै नयाँ कानुन बनाउन निर्देशन दिएका थिए। 

अहिले तेजाब आक्रमण गर्नेलाई सशक्त कारवाही गर्न नयाँ ऐन समेत बनाउने अन्तिम तयारीमा सरकार पुगेको छ।

यस्तै सरकारले भदौ २५ गतेलाई तेजाब आक्रमण विरुद्धको जागरण दिवसका रुपमा मनाउने समेत निर्णय गरिसकेको छ।

सिन्धुली स्थायी घर भएका थापाले सिन्धुलीका सयौं बिरामीको उपचारमा सघाएका छन्। गरिब तथा जेहेन्दार विद्यार्थीका लागि शिक्षाको व्यवस्था मिलाइदिएका छन्।

प्रकाशित मिति: : 2020-09-19 12:47:12

प्रतिकृया दिनुहोस्