चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा ६ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्यलाभको कामना गर्दै जुम्लामा दीपप्रज्वलन गरिएको छ।
सदरमुकाम खलंगाको बालमन्दिर नजिकै सडकमा ‘हामी गोविन्द केसीको समर्थक’ लेखेर युवा, नागरिक समाज र डा केसीका समर्थक तथा शुभचिन्तकले दीपप्रज्वलन गरेर स्वास्थ्य लाभको कामना गरेका हुन्।
डा केसीको स्वास्थ्य सुधारका लागि सरकारलाई दीप्रज्वलन गरेर दवाव सिर्जना गरिरहेको नागरिक समाज जुम्लाले जनाएको छ। ‘डा साप जनताको स्वास्थ्य अधिकारका लागि लडिरहनु भएको छ। सरकार जनताको माग प्रति उदासिन छ,’ नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने।
जिल्लास्थित युवा क्लव, सर्वसाधारण सबैले डा केसीको सत्याग्रहमा समर्थन जनाएका छन्। नागरिक समाज जुम्ला र युवाहरुले डा केसीको सत्याग्रहको पक्षमा अनसन बसेको बाबिरा मन्दिर र बालमन्दिरमा हस्ताक्षर संकलन गरिरहेका छन्।
कोराना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सामाजिक तथा ब्यक्तिगत दूरी कायम गरेर मात्र डा केसीलाई भेट्ने व्यवस्था मिलाइएको छ।
६ मिटर टाढाबाट उनलाई भेट्ने व्यवस्था मिलाइएको छ।