क्रिकइन्फो र स्टार स्पोर्ट्सकाे सम्भावित टाेलीमा सन्दीप दिल्लीकाे पहिलो रोजाई

इन्डियन प्रिमियर लिग (आईपिएल) को दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबविरुद्ध खेल्दै छ।

 खेल दुबईस्थित इन्टरनेशनल रंगशालामा नेपाली समय अनुसार बेलुका ७ः४५ पछि सुरु हुनेछ।

दुवै टोली आईपीएलमा विजयी सुरुवात गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छन्। दिल्लीको टोलीमा पृथ्वी शा, शिखर धवन, श्रेयर अय्‍यर, अमित मिश्रा, रिसभ पन्त, कागिसो राबडा, मार्कस स्टोइनिस, रविचन्द्रन आश्विन, इशान्त शर्मालगायत नाम चलेका खेलाडी छन्। 

यता पन्जाबमा ग्लेन म्याक्सवेल, केएल राहुल, मायाङ्क अग्रवाल, सरफराज अहमद, मुजिब उर रहमानलगायत स्टार खेलाडी छन्।

दिल्ली युवा ब्याट्सम्यान श्रेयस ऐर र पञ्जाब लोकेश राहुलको कप्तानीमा मैदान प्रवेश गर्ने छन्। यी दुबै खेलाडी भारतीय टोलीबाट पछिल्लो समय निरन्तर राम्रो प्रर्दशन गर्दै आएका छन्। राहुलले पहिलो पटक आईपीएलमा कप्तानी गर्दैछन्।

दिल्लीको ओपनिङ शिखर धवन र पृथ्वी शाले गर्ने छन्। यस्तै मध्यक्रममा श्रेयस ऐर, विकेटकिपर ऋषभ पन्त र शिम्रन हेटमायर रहने छन्। 

तल्लोक्रममा दिल्लीले मार्कस स्टोइनिस र एलेक्स केरी मध्य एकलाई मौका दिनेछ। स्पिनरमा सन्दीप लामिछाने, अमित मिश्रा र रविचन्द्रन आश्विन मध्य दुईले मात्रै मौका पाउने छन्।  

यता तिव्र गतिको बलरमा कागिसो रबाडाको स्थान पक्का छ।  रबाडा, पन्त र धवन प्रमुख हतियार हुन्।
 
ईशान्त शर्मा, मोहित शर्मा, एनरिच नोर्टजे र ड्यानियल साम मध्य एकले मौका पाउने छन्।

यता पञ्जाबको ओपनिङ लोकेश राहुल र मंयक अग्रवालले गर्नेछन्। मध्यक्रममा निकोलस पूरन, शरफराज खान र मन्दीप सिंहको सम्भावना छ। तल्लोक्रममा ग्लेन म्याक्सवेलले सम्हाल्ने छन्।

यता पहिलो खेलमा पञ्जाबले आक्रामक ब्याट्सम्यान क्रिस गेललाई बेन्चमा राख्ने सम्भावना छ। गेललाई खेलाउदा पञ्जाबको बलिङ कमजोर बन्न पुग्छ। 

यता तिव्र गतिको बलरमा मोहम्मद शामीको जोडीमा शेल्डन कटरेल र क्रिस जोर्डन मध्य एकलाई खेलाउने सम्भावना देखिन्छ। स्पिनरमा दुई युवा स्टार मुजिब उर रहमान र रबि बिश्रोईलाई खेलाउने सम्भावना छ। राहुल, म्याक्सवेल र शामी पञ्जाबको प्रमुख हतियार हुन्।

सन्दीपको सम्भावना कति?

क्रिकेट सम्बन्धीको चर्चित वेभसाइट क्रिकइन्फो र स्टार स्पोर्ट्सले सन्दीपलाई पन्जाबविरुद्धको खेलका लागि सम्भावित प्लेइङ-११ सूचिमा समावेश गरेको छ। 

यदि उनी टिममा परेमा हालसालै सम्पन्न क्यारेबियन प्रिमियर लिग(सीपिएल)मा जमैका तलाबाजबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरेका मुजिबविरुद्ध खेल्ने छन्। 

उनीहरु दुवै जना जमैका तल्लावाजका सर्वाधिक विकेट लिने शीर्ष दुई बलर थिए। 

११ खेलमा सन्दीपले १२ र मुजिबले १६ विकेट हात पारेका थिए। प्रतियोगिताभर सन्दीपको बलिङ इकोनोमी ५.२७ रन प्रतिओभर र मुजिबको ५.२९ प्रतिओभर रहेको थियो।

सन्दीप लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट खेल्न लागेका हुन्।  उनलाई २०१८ मा २० हजार भारतीय रुपैयाँमा दिल्ली डेयर डेभिल्स ९पूर्व नाम० ले अक्सनमार्फत क्लबमा भित्र्याएको थियो। पहिलो सिजनमा उनले खासै मौका पाउन सकेनन्। 

१६ खेलमध्ये ११ औं खेलमा आएर उनले भारतीय कप्तान विरोट कोहलीको बेङ्लोरविरूद्ध डेब्यु गर्ने मौका पाएका थिए। पहिलो खेलमा उनले २५ रन खर्चेर भारतीय क्रिकेट टिमका पूर्व विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलको विकेट लिएका थिए। 

उनले यसपछि २ खेल खेल्ने मौका पाए। पहिलो सिजनमा ३ खेल खेल्ने क्रममा ५ विकेट लिएका सन्दीपको पक्षमा राम्रो प्रतिक्रिया आएको थियो।
 
उनलाई सुरुदेखि मौका नदिएकोमा दिल्लीको आलोचना पनि भएको थियो। सन् २०१९ मा दोस्रो सिजन खेल्दा पनि उनले खासै अवसर पाएनन्। उनले १६ मध्ये ६ खेलमा मात्र मौका पाए। यतिबेला उनले ८ विकेट लिएका थिए। 

बिएल विश्लेषण

पछिल्लो दुई वर्षयता सन्दीपले विश्वभरि थुप्रै फ्रेञ्चाईजबाट खेल्ने मौका पाइसकेका छन्। 

उनको बलिङमा पहिलेभन्दा निकै परिपक्वता आइसकेको छ। त्यसैले तेस्रो सिजनमा उनले पहिलेभन्दा धेरै मौका पाउने आशा उनका समर्थकले गरेका छन्। युएईमा नेपालीहरूको उपस्थिति बाक्लो छ। यस्तो अवस्थामा उनले धेरै नेपालीबाट समर्थन पाउने सम्भावना पनि प्रबल छ। दुबईमा भएका धेरै नेपाली उनको खेल हेर्न आतुर देखिन्छन्। 

दिल्लीमा मिश्रा, आश्विन र पटेल जस्ता अनुभवी स्पिनर सलंग्न रहेका कारण सन्दीपलाई ‘प्लेइङ सेट’ मा स्थान बनाउन गाह्रो पर्दै आइरहेको छ। तर, पछिल्लो समय उनको खेलमा आएको परिपक्वता तथा एकरूपताका कारण उनले सुरुदेखि नै मौका पाउने कुरालाई नकार्न सकिन्न। फेरि दिल्ली आफ्नो खेलाडीको ‘फ्यान फलोइङ’ लाई राम्रोसँग ‘क्यास’ गर्न खप्पीस मानिन्छ। 

दिल्लीले नियमित लेग स्पिनर मिश्रा र अलराउन्डर पटेल हुँदाहुँदै बायाँ हाते अफ स्पिनर आश्विनलाई क्लबमा भित्र्याएको छ। तल्लो क्रममा राम्रो ब्याटिङ गर्ने क्षमता भएका आश्विन आजको खेलमा दिल्लीको पहिलो रोजाईका स्पिनर हुने निश्चत प्राय छ। 

उनी पहिले किङ्स–११ पञ्जाबका कप्तान पनि थिए। उनीमाथि दिल्लीले ७ करोड रुपैयाँ लगानी गरेको थियो। 

आश्विनपछि दोस्रो स्पिनरको रूपमा मिश्रा, पटेल र सन्दीप तीनै जनाको ‘प्लेइङ सेट’ मा पर्ने उत्तिकै सम्भावना छ। पटेल अलराउन्डर भएका कारण उनी पनि आजको खेलमा उत्रिने सम्भावना बलियो छ। सन्दीप र मिश्रामा को आज मैदानमा उत्रिन्छन्, यो भने ‘सस्पेन्स’ छ। दुबै खेलाडी लेग स्पिनर र विशुद्ध बलर हुन्। 

तर, सन्दीपको तुलनामा मिश्रा अनुभवी बलर हुन्। उनलाई दिल्लीले ४ करोड रुपैयाँमा अनुबन्ध गरेको थियो। गत वर्ष उनको इकोनोमी रेट ६ दशमलव ७५ थियो। तीन वर्षका लागि २० लाख भारुमा अनुबन्धित सन्दीपको इकोनोमी रेट गत वर्ष ८ भन्दा माथि थियो। 

युएईको विकेट तुलनात्मक रूपमा स्पिनरका लागि सहयोगी मानिन्छ। नेपालको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्दै उनले यहाँ थुप्रै खेल खेलिसकेका छन्। र, उनी यहाँ जतिबेला आउँदा पनि नेपालीहरूको भीड देखिन्छ।

दिल्लीका अस्ट्रेलियाली प्रशिक्षक रिकी पोन्टिङ सन्दीपको बलिङको प्रशंसक पनि हुन्। त्यसैले उनका समर्थकहरू आज उनको एउटा झलक पाउने आशामा ब्यग्र भएर बसेका छन्। 

गति लिन नसकेको दिल्ली र पञ्जाब

दिल्लीले पछिल्लो संस्करणमा गतिलो सुरुवात गर्न सकेको थिएन। सन् २०१८ मा सुरुका पाँच खेलमध्ये दिल्लीले एक र सन् २०१९ मा २ खेल जितेको थियो। यसैगरि पन्जाबले सन् २०१८ मा ४ र सन् २०१९ मा ३ खेल जितेको थियो।

सुरुका दुई संस्करणमा सेमिफाइनल पुगेको दिल्ली सन् २०१९ मा तेस्रो भएको थियो। पहिलो संस्करणमा सेमिफाइनल र सन् २०१४ मा फाइनल पुग्नुबाहेक पन्जाब अन्य हरेक संस्करणमा पहिलो चरणबाटै बाहिरिएको छ। पछिल्लो संस्करणमा छैटौँ भएको थियो।

प्रकाशित मिति: : 2020-09-20 14:27:32

प्रतिकृया दिनुहोस्