युएईमा सन्दीपको अनुहार हेर्न नेपालीहरू ब्यग्र, आज उत्रिएलान मैदानमा?

नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को तेह्रो संस्करणअन्तर्गत पहिलो खेलको सुरुवात आजबाट गर्दैछन्। 

उनी आवद्ध दिल्ली क्यापिटल्सको खेल आइतबार साँझ नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा सुरु हुँदैछ। दिल्लीबाट सन्दीपको आईपीएलमा अन्तिम सिजन पनि हो।

उनलाई २०१८ मा २० हजार भारतीय रुपैयाँमा दिल्ली डेयर डेभिल्स (पूर्व नाम) ले अक्सनमार्फत क्लबमा भित्र्याएको थियो। पहिलो सिजनमा उनले खासै मौका पाउन सकेनन्। 

१६ खेलमध्ये ११ औं खेलमा आएर उनले भारतीय कप्तान विरोट कोहलीको बेङ्लोरविरूद्ध डेब्यु गर्ने मौका पाएका थिए। पहिलो खेलमा उनले २५ रन खर्चेर भारतीय क्रिकेट टिमका पूर्व विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलको विकेट लिएका थिए। 

उनले यसपछि २ खेल खेल्ने मौका पाए। पहिलो सिजनमा ३ खेल खेल्ने क्रममा ५ विकेट लिएका सन्दीपको पक्षमा राम्रो प्रतिक्रिया आएको थियो।
 
उनलाई सुरुदेखि मौका नदिएकोमा दिल्लीको आलोचना पनि भएको थियो। सन् २०१९ मा दोस्रो सिजन खेल्दा पनि उनले खासै अवसर पाएनन्। उनले १६ मध्ये ६ खेलमा मात्र मौका पाए। यतिबेला उनले ८ विकेट लिएका थिए। 

पछिल्लो दुई वर्षयता सन्दीपले विश्वभरि थुप्रै फ्रेञ्चाईजबाट खेल्ने मौका पाइसकेका छन्। उनी यसपालि पनि वेष्ट इन्डिजमा आयोजना भएको सीपीएल खेलेर सिधै युनाईटेड अरब इमिरेट्स (युएई) पुगेका छन्। 

उनको बलिङमा पहिलेभन्दा निकै परिपक्वता आइसकेको छ। त्यसैले तेस्रो सिजनमा उनले पहिलेभन्दा धेरै मौका पाउने आशा उनका समर्थकले गरेका छन्। युएईमा नेपालीहरूको उपस्थिति बाक्लो छ। यस्तो अवस्थामा उनले धेरै नेपालीबाट समर्थन पाउने सम्भावना पनि प्रबल छ। दुबईमा भएका धेरै नेपाली उनको खेल हेर्न आतुर देखिन्छन्। 

दिल्लीमा अमित मिश्रा, रवीचन्द्रन आश्विन र अक्षर पटेल जस्ता अनुभवी स्पिनर सलंग्न रहेका कारण सन्दीपलाई ‘प्लेइङ सेट’ मा स्थान बनाउन गाह्रो पर्दै आइरहेको छ। तर, पछिल्लो समय उनको खेलमा आएको परिपक्वता तथा एकरूपताका कारण उनले सुरुदेखि नै मौका पाउने कुरालाई नकार्न सकिन्न। फेरि दिल्ली आफ्नो खेलाडीको ‘फ्यान फलोइङ’ लाई राम्रोसँग ‘क्यास’ गर्न खप्पीस मानिन्छ। 

दिल्लीले नियमित लेग स्पिनर मिश्रा र अलराउन्डर पटेल हुँदाहुँदै बायाँ हाते अफ स्पिनर आश्विनलाई क्लबमा भित्र्याएको छ। तल्लो क्रममा राम्रो ब्याटिङ गर्ने क्षमता भएका आश्विन आजको खेलमा दिल्लीको पहिलो रोजाईका स्पिनर हुने निश्चत प्राय छ। 

उनी पहिले किङ्स–११ पञ्जाबका कप्तान पनि थिए। उनीमाथि दिल्लीले ७ करोड रुपैयाँ लगानी गरेको थियो। 

आश्विनपछि दोस्रो स्पिनरको रूपमा मिश्रा, पटेल र सन्दीप तीनै जनाको ‘प्लेइङ सेट’ मा पर्ने उत्तिकै सम्भावना छ। पटेल अलराउन्डर भएका कारण उनी पनि आजको खेलमा उत्रिने सम्भावना बलियो छ। सन्दीप र मिश्रामा को आज मैदानमा उत्रिन्छन्, यो भने ‘सस्पेन्स’ छ। दुबै खेलाडी लेग स्पिनर र विशुद्ध बलर हुन्। 

तर, सन्दीपको तुलनामा मिश्रा अनुभवी बलर हुन्। उनलाई दिल्लीले ४ करोड रुपैयाँमा अनुबन्ध गरेको थियो। गत वर्ष उनको इकोनोमी रेट ६ दशमलव ७५ थियो। तीन वर्षका लागि २० लाख भारुमा अनुबन्धित सन्दीपको इकोनोमी रेट गत वर्ष ८ भन्दा माथि थियो। 

सन्दीपले टिममा स्थान बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। ट्रिनिडाड एण्ड टोबागोमा सम्पन्न क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर युएई आएका सन्दीपले भनेका छन्, ‘यहाँ अहिलेसम्म मेरो राम्रो अनुभव छ। सीपीएलमा गरेको राम्रो प्रदर्शनको निरन्तरता यहाँ पनि रहन्छ।’

सन्दीपले सीपीएलमा जमैका तलावाहजबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ११ खेलमा कुल १२ विकेट लिएका थिए। आईपीएलको मुखमा भएको उक्त प्रतियोगितामा उनको ५ दशमलब २७ को इकोनोमी रेट थियो।  

उनले दिल्लीमा आफूसँगै खेल्ने अन्य स्पिनर निकै अनुभव भएपनि आफूलाई यसले खासै अफ्ठेरो नपर्ने प्रतिक्रिया दिएका छन्। ‘यदी म राम्रो खेलिरहेको छु भने यसले खासै फरक पर्दैन। वास्तवमा टिमको योजनाअनुसार खेलाडी छान्ने गरिन्छ। अवस्था र सम्भावित जोखिमलाई हेरेर कुन खेलाडी कतिबेला खेल्छ भन्ने निर्धारण गर्ने गरिन्छ,’ उनले भनेका छन्। 

युएईको विकेट तुलनात्मक रूपमा स्पिनरका लागि सहयोगी मानिन्छ। नेपालको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्दै उनले यहाँ थुप्रै खेल खेलिसकेका छन्। र, उनी यहाँ जतिबेला आउँदा पनि नेपालीहरूको भीड देखिन्छ।

दिल्लीका अस्ट्रेलियाली प्रशिक्षक रिकी पोन्टिङ सन्दीपको बलिङको प्रशंसक पनि हुन्। त्यसैले उनका समर्थकहरू आज उनको एउटा झलक पाउने आशामा ब्यग्र भएर बसेका छन्। 

‘भारतमा मैले त्यति धेरै खेलेको छैन, आईपीएलको त्यही ९ खेल खेलेको हुँ। बरु भारतको तुलनामा युएईमा बढी खेलेको छुँ। त्यसैले मलाई यहाँको विकेट र अवस्थाको जानकारी छ,’ सन्दीपले भनेका छन्, ‘युएईको विकेट स्पिनरलाई सहयोग गर्ने खालेछ। यहाँको विकेट पछि गएर स्लो हुन्छ।’

सन्दीपको क्वारेन्टाइनको अवधि शनिबार समाप्त भइसकेको छ। जमैकाबाट दुबई फर्किने बेला उनको विमान छुटेको थियो। उनी गत आइतबार युएई पुग्ने निर्धारित समयभन्दा ढिलो टोलीमा सहभागी भएका थिए। उनी सोमबार बिहान मात्र युएईका लागि उडेका थिए। 

कोभिड–१९ को प्रोटोकल अनुसार सन्दीप ६ दिन दुबईको होटलमा क्वारेन्टाइनमा बसेका थिए। यहाँ खेल्नुअघि तीन पटक परीक्षण अनिवार्य छ। 

युएई विमानस्थलमा उत्रिने बित्तिकै उनले पहिलो परीक्षण दिएका थिए। उनले ६ दिने आइसोलेसनमा पहिलो र तेस्रो दिनको परीक्षण गरिसकेका छन्। तेस्रो परीक्षण छैटौं दिन भएको थियो। सबैमा उनको रिपोर्ट नेगेटिभ आएको छ।

प्रकाशित मिति: : 2020-09-20 07:43:41

प्रतिकृया दिनुहोस्