जेलमा शंकास्पद मृत्यु भएका जैसवालको पोस्टमार्टम गर्ने सरकारको निर्णय

केन्द्रीय कारागारमा जेल सजाय काटिरहेका ६३ वर्षीय रामलखन जैसवालको शनिबार राति शंकास्पद मृत्युमा आफन्तको विरोधपछि सरकारले उक्त शवको पोस्टमार्टम गर्ने भएको छ।

मृतकका आफन्तले हत्या र अङ्ग झिकिएको आरोप लगाउँदै पोस्टमार्टमको माग गरे पछि गृहमन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर पोष्टमार्टम गर्ने निर्णय गरेको हो।

मृतक जैसवालको आँखा झिकिएको र शरीरको विभिन्न भागमा चोट रहेको उनकी छोरी रश्मी जैसवाललगायत आफन्तले दाबी गरेका छन्। मंगलबार बिहान उनीहरुले वीर अस्पतालअघि प्रदर्शन पनि गरेका छन्।।

‘कोरोना पोजेटिभको रिपोर्ट देखाएर हत्या लुकाउने र अङ्ग झिक्ने काम भएको छ। जेलमा उहाँको हत्या भएको हुनुपर्छ। मेरो बुबाको पोष्टमार्टम गरियोस्’, रश्मीले सञ्चारकर्मीसँग भनेकी थिइन्। उनले मृतक जैसवालको शवलाई नजिकैबाटै खिचिएका तस्विर र भिडियो पनि सार्वजनिक गरेकी छिन्।

पार्किन्सन र प्रेसरका विरामी जैसवालको गत शनिबार राति अन्दाजी १० बजे निधन भएको थियो।

वीर अस्पतालका प्रवक्ता विद्यानिधि पौडेलले जैसवाललाई अस्पताल ल्याइपुर्‍याउनुअघि नै उनको मृत्यु भइसकेको र त्यसपछि कोरोना परीक्षण गरिएको बताए। ‘अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भइसकेको थियो। त्यसपछि कोरोना परीक्षण गर्ने काम भयो। सोमबार रिपोर्ट पोजेटिभ आयो। उनको शरिरमा त्यस्तो कुनैपनि चोट छैन’, पौडेलले भने।

यता केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले सबै आरोपहरू झुट्टा भएको दावी गरे। उनले जैसवाललाई सास फेर्न समस्या भएपछि शनिबार राति १० बजे वीर अस्पताल लगिएको बताए। जेलबाट निस्कँदा उनी नमस्कार गर्दै विदा भएको र शरीरमा कुनै पनि किसिमको चोट नदेखिएको हाम्रो सिसिटिभी फुटेजमा देखिन्छ’, बाँस्कोटाको दाबी छ।

प्रकाशित मिति: : 2020-09-23 16:15:10

प्रतिकृया दिनुहोस्