एउटा बुढो ‘आत्मा’ सँग झस्किरहने सरकार

आयोमेल

काठमाडौँ

गजेन्द्र बाेहरा 

अघिल्लो वर्ष असोज २७ मा त्रिवि शिक्षण अस्पतालबाट एउटा झोलाको कुटुरो बोकेर ‘अवकाश’ यात्राका लागि निस्केका डा. गोविन्द केसी अहिले त्यही अस्पतालको ५०१ नम्बर क्याबिनमा ढलिरहेका छन्। 

त्यो बेला डा. केसीले भनेका थिए– ‘अब आन्दोलनले नै फुर्सद हुनेछैन।’ 

र, सँगै उनले भनेका थिए– ‘एउटा डाक्टरले के गर्छ? यो जागिरको पो अवकाश, पेसाको होइन।’

त्यसपछि उनी मध्य र सुदूरका पहाडतिर हान्निए। 

घरघरै पुगेर उनले बिरामी जाँचे, उपचार गरे। झोलामा बोकेका औषधी बाँडे। 

मध्य भदौतिर जुम्ला पुगेका डा. केसीलाई प्रहरीले घेराबन्दी गर्‌यो। 

उनी बसेकै होटलमा सरकारले उनलाई ‘नजरबन्द’ गर्‌यो।

औषधी किन्नका लागि उनलाई पसलसम्मै जान दिइएन। 

एउटा यायावर जिन्दगी बाँचिरहेको ‘बुढो’ डाक्टरसँग सरकार डराउनाको कारण थियो– डा. केसीको ‘इमान्दार हठ’।
त्यो बेला उनी अनसन बस्ने सुरमा थिए। 

केही दिनको नजरबन्द तोडेर उनी जुम्ला सदरमुकाम नजिकैको एउटा मन्दिरमा गएर अनसन घोषणा गरे। 

सरकारको त्यो ‘भय’ को सिलसिला त्यतिमै सीमित भएन। 

रातारात उनलाई प्रहरीले उठाएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‌यायो। 

त्यहाँ ज्यादै ‘असुरक्षा’ भएको ठानेर डा. केसीले काठमाडौं नै फर्किन्छु भने। 

जुम्लाबाट नेपालगन्ज झरे। 

अनसनको सिलसिला टुटेको थिएन। 

उनी नेपालगन्जको भेरी अस्पतालमा एक दिन बसे। 

मंगलबार उनी बुद्ध एयरको जहाजबाट काठमाडौं ओर्लिंदै थिए। 

त्रिभुवन विमानस्थलमा उनलाई लिन टिचिङ अस्पतालको एम्बुलेन्स तम्तयार थियो। 

नेपाल चिकित्सक संघले पनि त्यहाँ एम्बुलेन्स पठाएको थियो। 

प्रकाशित मिति: : 2020-09-23 20:20:23

प्रतिकृया दिनुहोस्