युरोपका एक मात्र तानाशाहको छैटौं पल्ट ‘राज्याभिषेक’ (भिडियो)

रमेश राज बाँस्तोला

लिस्बन (पोर्चुगल)

युरोपको एक मात्र तानाशाह बेलारुसका एलेक्जेन्डर लुकासेन्कोले युरोपका अन्य देश र आफ्नै जनताको विरोधका बाबजुद छैटौं पल्ट राष्ट्रपति पदको सपथ ग्रहण गरेका छन्। 

उनी २६ वर्षदेखि बेलारुसको सत्तामा कायम छन्। अनेकौं विरोधका बाबजुद उनले बुधबार अचानक एक समारोहका बीच राष्ट्रपति पदको सपथ लिए। उनले सपथ गर्ने कार्यक्रमको कुनै सूचना सार्वजनिक गरिएको थिएन। 

उनले सपथ लिएको घटनालाई लिएर बुधबार नै राजधानी मिन्स्कमा विरोध सभाको आयोजना भयो। सयभन्दा बढी मानिस सहभागी विरोध कार्यक्रममा केही ठूला पदाधिकारी पनि समावेश थिए। 

विपक्षी दलले उनको यो हर्कतविरूद्ध देशव्यापी आन्दोलन सुरु गर्ने जानकारी दिएको छ। 

सपथ कार्यक्रममा लकासेन्कोले संविधानमा हात राखेका थिए। उनले चुनाव आयोगसमक्ष आफ्नो राष्ट्रपति पदको आधिकारीक आईडी नम्बर पनि सुम्पिएका थिए। 

सपथ कार्यक्रममा लुकासेन्कोले भने, ‘कोरोना महामारीले गर्दा विश्व संकटमा छ। यस्तो अवस्थामा देशभित्र सुरक्षाको स्थिति बनाइरहन् र जनस्तरमा एकजुटता कायम गर्न आवश्यक छ।’ उनको यो भनाईलाई विपक्षीहरूले धम्कीको रूपमा लिएका छन्। 

लुकासेन्कोले धाँधली गरेर चुनाव जितेको विरोधमा दुई महिनाअघि बेलारुसमा ठूलो प्रदर्शन भएको थियो। यो प्रदर्शनलाई दबाउन राष्ट्रपति लुकासेन्को आफै हतियार बोकेर बाटोमा उत्रिएका थिए। 

उनले सपथ ग्रहणमा भनेका छन्, ‘बेलारुसका जनतालाई कोरोनाको महामारीका बीच चौबाटोमा छोडेर हिड्ने अधिकार मलाई छैन।’ यसको स्पष्ट अर्थ उनको विरोधमा बाटोमा उत्रिएका मानिसहरूविरूद्ध अतिरिक्त दमन हुने आशंका बढेको छ। 

सोभियत संघबाट सन् १९९१ मा स्वतन्त्र भएको बेलारुसको सीमा रुससँग जोडिएको छ। सन् १९९३ मा भएको आम निर्वाचनदेखि नै लुकासेन्को बेलारुसको राष्ट्रपति बन्दै आइरहेका छन्। उनी गत अगस्टमा भएको चुनावमा पनि राष्ट्रपति पदका उम्मेदवार थिए। 

उनले चुनावको परिणाम ८० प्रतिशतभन्दा माथि आफ्नो पक्षमा आएको घोषणा गरेपछि विपक्षी दलले यसको तीखो प्रतिक्रिया जनाएको थियो।

लुकासेन्कोले मत गन्ने क्रममा धाँधली गरेको भन्दै विपक्षी दलकी नेता स्वेतलाना तिखानोब्सनाका समर्थकहरू सडकमा उत्रिएका थिए। 

लुकासेन्कोको विरोधमा बेलारुसमा भएको प्रदर्शन दबाउने नाममा २ जनाको निधन हुनुको साथै ६ हजारलाई पक्राउ गरिएको थियो। विपक्ष दलकी नेता स्वेतलाना पनि भागेर लुथवानिया पुगेकी थिइन्। 

जर्मनीले यसअघि नै लुकासेन्कोलाई आफ्नो देशले मान्यता नदिने स्पष्ट पारिसकेको छ। जर्मनी सरकारका प्रवक्ता स्टिफन सिबेरटले युरोपेली महासंघसँग पनि बेलारुसविरूद्ध प्रतिबन्ध लगाउन माग गरेका थिए। 

अमेरिकाले पनि लुकासेन्कोलाई राष्ट्रपति मान्नबाट अस्विकार गरेको छ। अमेरिकी विदेश मन्त्रालयले यसअघि नै चुनावको परिणामलाई धाँधली भनिसकेको छ

प्रकाशित मिति: : 2020-09-24 08:24:54

प्रतिकृया दिनुहोस्