संक्रमित छोराले भेटेर गएपछि बुवाको गयो कोरोनाबाट ज्यान

झापामा कोरोना संक्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ ।   झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नं ६ निवासी वृद्धको मृत्यु भएको हो । 

उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । उनको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।   

उनका छोरा झापाको बिर्तामोडबाट गत भदौ २४ गते बुवा भेट्न आएका थिए । त्यसपछि यही असोज ३ गते आएको छोराको पिसिआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो ।  छोराले भेटेर गएपछि पितामा सामान्य ज्वरो र  रुघाखोकीको लक्षण देखिएको थियो । छोराले भेटेर गएपछि बुवाको  कोरोनाबाट मृत्यु भएको बताइएको छ । 

क्रमशः रुघाखोकीले च्याप्दै गएपछि गाउँपालिकाले तीन दिनअघि सोही क्षेत्र आसपासका ३२ जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गरेको थियो । परीक्षण गरिएकामध्ये अन्य सबैको रिपोर्ट नेगेटिभ आए पनि  वृद्धको भने  पोजेटिभ आएको विश्वकर्माले जानकारी दिए।

लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्यामा रहेका वृद्धको गए राति निधन भए पनि रिपोर्ट भने बिहिबार बिहान मात्र आएको बताइएको छ । 

प्रकाशित मिति: : 2020-09-24 14:49:31

प्रतिकृया दिनुहोस्