एसपी रविराज खड्कासहितका प्रहरीलाई कारवाही गर्न गृहको निर्देशन

रौतहट । रौतहटको गरुडा नगरपालिका–१९ जगडियाका दलित युवा विजयराम चमारको ‘शंकास्पद मृत्यु’ प्रकरण छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।  ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका प्रमुख (उप–सचिव) दोरेन्द्र निरौला नेतृत्वको छानविन समितिले एसपी रविराज खड्कासहितका प्रहरीलाई कारवाही गर्न सिफारिस गरेको छ । 

छानविन समितिको सिफारिसका आधारमा एसपी खड्का र डिएसपी ज्ञानकुमार महतोलाई कारवाही गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले रातोपाटीलाई बताए ।  ‘प्रहरी नियमावलीअनुसार एसपी, डिएसपी र अन्य प्रहरी कर्मचारीलाई कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाएका छौं’ सह–सचिव बुढाले भने–‘तीन जना प्रहरीलाई यसअघि नै निलम्बन गरिएको छ ।’ 

रौतहटका तत्कालिन एसपी खड्का र गरुडाका डिएसपी महतोलाई जिम्मेवारीबाट हटाइएको छ । विजयरामलाई हिरासतमा यातना दिने जिल्ला प्रहरी कार्यालयका रौतहटका इन्सपेक्टर नविनकुमार सिंह, हवल्दार मुन्नासिंह र धिरोज मियाँ धुनियाँलाई यसअघि नै निलम्बन गरिएको थियो । घटनामा संलग्न प्रहरी जवानहरु रुपेश कुश्वाहा र अजय यादव लाई विभागीय कारवाहीको सिफारिस गरिएको छ । 

प्रकाशित मिति: : 2020-09-24 16:06:47

प्रतिकृया दिनुहोस्