किसानले पाएनन् युरिया, उत्पादन बढाउन चोरी गरी ल्याइएकै मलको भर !

बाह्रखरी

जनकपुर

सुरेश यादव

अन्‍न उत्पादनको दृष्टिकोणले धान र गहुँ खेतीका आधारमा प्रदेश २ का आठवटै जिल्ला मुलुकको पकेट क्षेत्रका रुपमा छ । भारतीय सीमासँग जोडिएका यी जिल्लामा राज्यले आवश्यक मल आपूर्ति गर्न नसक्दा सीमापारिबाट चोरी निकासी भई आउने मलको भरमा किसानले खेती गर्न बाध्य छन् ।

राज्यको तर्फबाट किसानलाई मल आपूर्ति गर्ने जिम्मा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको हो । कम्पनीले ७० प्रतिशत र कर्पोरेसनले ३० प्रतिशत मल आपूर्ति गर्ने जिम्मेवारी पाएका छन् । धनुषास्थित उक्त दुवै निकायले यस वर्ष धानबालीको लागि किसानलाई आवश्यक मल उपलब्ध गराउन सकेन । 

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार धनुषामा ५९ हजार हेक्टरमा धान खेती भइरहेको छ । प्रदेशमा करिब पाँच सय हेक्टरमा धान खेती भइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । धान खेतीका लागि एक सिजनमा कम्तीमा प्रति हेक्टर १२० किलो मल आवश्यक पर्छ । यसैलाई आधार मान्‍ने हो भने यस प्रदेशमा कम्तीमा ६० हजार टन मल आवश्यक पर्छ । 

“यस वर्ष धान खेतीका लागि मात्रै कम्तीमा ८ देखि १० हजार टन मल कृषि सामग्री कम्पनीले धनुषा र महोत्तरीमा वितरण गर्नुपर्ने थियो,” कम्पनीका धनुषा प्रमुख बेचन साहले बाह्रखरीसँग भने, “अलिअलि डीएपी मल त बाँडियो । युरिया मल हामीलाई पनि उपलब्ध भएन, किसानलाई कहाँबाट बाँड्नु ?”

प्रकाशित मिति: : 2020-09-28 13:49:13

प्रतिकृया दिनुहोस्