दिल्लीलाई हराउँदै हैदारावादको पहिलो जित

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइज हैदारावादले पहिलो जित निकालेको छ।

मंगलबार राति सम्पन्न ११ औं खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै हैदराबादले तेस्रो खेलमा पहिलो जित निकालेको हो। दिल्लीको जारी सिजनमा तेस्रो खेलमा पहिलो हार हो। जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको शीर्ष स्थानको दिल्लीले २० ओभरमा ७ विकेटको गुमाउँदै १ सय ४७ रन मात्र बनाउँदै तालिकाको दोस्रो स्थानमा झरेको छ।

दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३४ रनको योगदान दिए । धवनले ३१ बलमा ४ चौका प्रहार गरे ।

त्यस्तै रिशव पन्तले २८ रन बनाउने क्रममा २७ बलमा २ चौका र २ छक्का प्रहार गरे। शिम्रोन हेटमायर २१ रनको योगदान गरे। हेटमायर १२ बलमा २ छक्का प्रहार गरे । चौथो विकेटका लागि हेटमायर र ऋषभ पन्तले ४२ रनको साझेदारी गरेका थिए ।

कागिसो रबाडा ७ बलमा १ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे ।

दिल्लीले पहिलो ओभरको पाँचौ बलमा ओपनर पृथ्वी शा लाई दुई रनमा गुमाएको थियो । आठौं ओभरको दोस्रो बलमा कप्तान श्रेयस ऐर १७ रनमा आउट भए । ऐरले २१ बलमा २ चौका प्रहार गरे।

मार्कस स्टोइनिसलाई ११ रनमा एलबिडब्लू आउट हुँदा अक्षर पटेल ५ रनमा बोल्ड आउट भए ।

हैदारावादका लागि राशिद खानले ४ ओभरमा १४ रन खर्चेर प्रमुख ३ विकेट लिए । भुवनेश्वर कुमारले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । खलिल अहमदले एक विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो।

हैदराबादका ओपनर जोनी बेयरस्टोले सर्वाधिक ५३ रन बनाए। उनले ४८ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए। केन विलियम्सन २६ बलमा ५ चौका सहित ४१ रनमा क्याच आउट भए। यसअघि डेभिड वार्नर र बेयरस्टोले ९.३ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए।

वार्नर ४५ रनमा आउट हुन पुगे । उनले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए। मनिष पान्डे ३ रनमा आउट भए। डेब्यु खेल खेलि रहेका युवा ब्याट्सम्यान अब्दुल सामद ७ बलमा १ चौका र १ छक्का सहित रनमा १२ अविजित रहँदा अभिषेक शर्मा १ रनमा अविजित रहे।

दिल्लीका लागि स्पिनर अमित मिश्राले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा र दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो। दिल्लीले चौथो खेल शनिबार कोलकाता नाइट राइडर्ससँग शारजाहमा खेल्नेछ।

यसअघि हैदराबाद रोयल च्यालेन्जर्स बेंगलोरसँग पहिलो खेलमा १० रनले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ७ विकटेले हारेको थियो । चौथो खेल हैदराबादले शुक्रबार चेन्नई सुपर किंग्ससँग दुबईमा खेल्नेछ। यो जितसँगै हैदारावाद अंक तालिकाको छैठौ स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2020-09-30 00:04:23

प्रतिकृया दिनुहोस्