जापानमा जग्गाको भाउमा भारी गिरावट

एजेन्सी

टोकियो

कोरोना भाइरस महामारीले अर्थतन्त्रमा पारेको प्रभाव स्वरुप जापानमा जग्गाको भाउमा भारी गिरावट आएको छ। जापानमा जग्गाको भाउ घटेको यो ३ वर्षमा पहिलो पटक हो।

कोरोना भाइरसको महामारीबीच होटल र पसल जस्ता व्यवसाय सञ्चालनका लागि जग्गाको माग घटेसँगै मूल्य पनि प्रभावित भएको हो।

भूमि, पूर्वाधार, यातायात तथा पयर्टन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष जग्गाको भाउ औसत शून्य दशमलव ६ प्रतिशतले घटेको हो।

देशभरबाट सर्वेक्षणमा सहभागी गराइएका २१ हजार ५ सय १९ साइटमध्ये जुलाई १ सम्ममा ६० दशमलव १ प्रतिशतको मूल्य घटेको छ । कुल साइटमध्ये २१ दशमलव ४ प्रतिशतमा गत वर्षको सोही अवधिको तुलनामा मूल्य बढेको भए पनि यो वृद्धिले महामारी अघिको बजारको अवस्था देखाएको मन्त्रालयको भनाइ छ ।

सर्वेक्षणमा सहभागी मध्ये १८ दशमलव ५ प्रतिशत साइटको मूल्य घटेको छ । सर्वेक्षणमा देशभरबाट व्यवसायिक, आवासीय र औद्योगिक सबै खालका जग्गाको औसत मूल्य समावेश गरिएको थियो ।

विदेशी पयर्टकको आगमन, व्यवसायिक सम्पत्तिको भाडामा भएको वृद्धि र पयर्टन क्षेत्रमा लगानीका कारण सन् २०१८ मा जापानमा सम्पत्तिको मूल्य २७ वर्षमा पहिलो पटक बढेको थियो ।

समीक्षा अवधिमा व्यवसायिक प्रयोजनका जग्गाको भाउ शून्य दशमलव ३ प्रतिशतले घटेको छ । यो कमी पाँच वर्ष यताकै पहिलो हो । त्यस्तैगरी आवासीय जग्गाको भाउमा भने शून्य दशमलव ७ प्रतिशतको कमी आएको थियो ।

प्रकाशित मिति: : 2020-10-01 18:34:41

प्रतिकृया दिनुहोस्