प्राकृतिक प्रकोपमा किन पुरुषभन्दा बढी महिलाको मृत्यु हुन्छ ?

पाँच वर्षअघिको महाभूकम्पमा होस् वा यस वर्षका ठूल्ठूला पहिरोमा, पुरुषभन्दा महिलाकै ज्यान बढी गइरहेको छ। 

२७ भदौ राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरो जाँदा ठूलो धनजनको क्षति भयो। नगरप्रमुख निमफुन्जो शेर्पाका अनुसार पहिरोमा ३१ जनाको मृत्यु भएकोमा १६ जनाको शव भेटिएको छ भने १५ जना अझै हराइरहेका छन्। मृत्यु हुने र हराएकामध्ये २० जना महिला छन् भने ११ जना पुरुष। 

सिन्धुपाल्चोककै जुगल गाउँपालिकाको लिदीमा ३० साउनमा गएको पहिरोमा मृत्यु हुनेमध्ये पनि आधा भन्दा बढी महिला नै छन्। गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङका अनुसार, अहिलेसम्म ३७ जनाको शव भेटिएको छ भने दुई जना अझै फेला परेका छैनन्। जसमध्ये २१ जना महिला र १८ जना पुरुष छन्। 

त्यस्तै १७ भदौ राति अविरल वर्षाका कारण बाग्लुङको भुजीखोलामा आएको भेल पहिरोले ढोरपाटन नगरपालिकाका वडा नम्बर ५-९ सम्ममा ठूलो क्षति पुर्‍यायो। २२ जना मृतकको सनाखत भयो भने १५ जना अझै हराइरहेका छन्। ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमति पुन मगरका अनुसार मृतक र हराइरहेकामा २१ जना महिला छन् भने १६ जना पुरुष। 

यस वर्ष म्याग्दी, तनहुँ र पर्वतमा गएका पहिरोमा परी मृत्यु हुनेमा पनि महिला नै धेरै छन्। प्राकृतिक प्रकोप सम्बन्धी जानकारी दिने सरकारको वेबसाइट डीआरआर पोर्टल का अनुसार, यसअवधिमा म्याग्दीमा ३० जनाको मृत्यु भएको छ, जसमा १६ जना महिला छन् भने तनहुँमा १३ जनाको मृत्यु हुँदा ९ जना महिला छन्। पर्वतमा पनि १० जना मृतकमध्ये ७ जना महिला छन्। 

१ वैशाखदेखि १३ असोजसम्ममा देशभर गएका ४८१ पहिरोमा परी २९१ जनाले ज्यान गुमाए, ६७ जना अझै हराइरहेका छन् र २२३ जना घाइते भएका छन्। यीमध्ये कम्तीमा १० जना भन्दा बढी मानवीय क्षति भएका सिन्धुपाल्चोक, बाग्लुङ, म्याग्दी, कालीकोट, जाजरकोट जस्ता जिल्लामा भएको मरणमा पुरुषको भन्दा महिलाकै संख्या धेरै छ। 
अघिल्ला वर्षको तुलनामा यस वर्ष पहिरोबाट नेपालमा झण्डै तीन गुणा बढी मानवीय क्षति भयो। गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरण अनुसार १ वैशाखदेखि १३ असोजसम्ममा देशभर गएका ४८१ पहिरोमा परी २९१ जनाले ज्यान गुमाए, ६७ जना अझै हराइरहेका छन् र २२३ जना घाइते भएका छन्। यीमध्ये कम्तीमा १० जना भन्दा बढी मानवीय क्षति भएका सिन्धुपाल्चोक, बाग्लुङ, म्याग्दी, कालीकोट, जाजरकोट जस्ता जिल्लामा भएको मरणमा पुरुषको भन्दा महिलाकै संख्या धेरै छ। 

यो वर्षको पहिरोमा मात्रै होइन, २०७२ सालको भूकम्पमा पनि पुरुष भन्दा धेरै महिलाको ज्यान गएको थियो। भूकम्पमा मृत्यु भएको पहिचान भएका आठ हजार १९३ जनामध्ये ५५ प्रतिशत महिला थिए। राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार चार हजार ४९७ जना महिला र बालिकाहरूको मृत्यु भएको थियो। जिल्लागत विवरण अनुसार काठमाडौंमा मात्रै महिलाको भन्दा धेरै पुरुषको मृत्यु भएको थियो। 

प्रकाशित मिति: : 2020-10-05 08:16:21

प्रतिकृया दिनुहोस्