कोरोना संक्रमितले भरिएपछि अस्पतालले बिरामी फर्काउन थाले, ‘होम आइसोलेसन’मा बस्नेको संख्या बढ्यो

कोरोना विशेष अस्पतालहरू संक्रमितले भरिन थालेपछि होम आइसोलेसनमा बस्नेहरूको संख्या बढ्न थालेको छ। मुलुककै ठूलो वीर अस्पताल लगायत प्राय: अस्पतालमा वेड अभाव हुन थालेपछि उपचार गर्न जाने कोरोना संक्रमितलाई अन्यत्र रेफर गर्न थालिएको छ।

केहि समयअघि स्वास्थ्य मन्त्रालयले कोरोना विशेष अस्पताल तोकेको वीरमा वेडहरू भरिएको भन्दै आउने संक्रमितको भर्ना भइरहेको छैन। वीर अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका कुल १४० वेड भरिएका अस्पतालले जनाएको छ। वीर अस्पतालले शुरुमा ४० वेड छुट्याएर कोरोना संक्रमितको उपचार गर्न थालेको थियो।

यस्तै, अस्पतालमा भएको १० वेडको आईसीयू पनि भरिएपछि उपचार गर्न जाने कोरोनाका सिकिस्त बिरामीलाई भर्ना गर्न नसकेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले हिमालखबरलाई बताए । 

“आईसीयू अभावले अपचार गर्न आउने नयाँ बिरामीलाई अन्य अस्पताल रेफर गर्नुपर्ने बाध्यता छ”, डा. सेन्चुरीले भने, “अस्पतालमा उपचार गर्न आउने कोरोना संक्रमितको संख्या बढेपछि वेड व्यवस्थापन गर्न सकेका छैनौँ।” 

उनका अनुसार अस्पतालमा कोरोना संक्रमितलाई छुट्याइएका सबै वेड भरिएपछि ११० वेड थप्ने लक्ष्य राखिएको छ। 

वीर अस्पतालमा कोरोना संक्रमित बिरामीहरूको संख्या बढेसँगै व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), पीसीआर मेसिनमार्फत कोरोना परीक्षण गर्न चाहिने रिएजेन्ट लगायतका सामग्रीको व्यवस्थापन गर्न कठिन भएको डा. सेन्चुरीले बताए। “भनेको समयमा किट पाइँदैन। पाइए पनि फरक–फरक कम्पनीका किट आउँछन्”, उनले भने, “एकै कम्पनीका किट नआउँदा भनेको समयमा परीक्षणको रिपोर्ट दिन ढिलाई भइरहेको छ।” 

यस्तै, उनले स्वास्थ्य मन्त्रालयले करिब पाँच महीनायता कर्मचारीलाई जोखिम भत्ता उपलब्ध नगराएका कारण कर्मचारी परिचालनमा पनि समस्या परेको बताए। 

वीरमा कोरोना संक्रमितको संख्या बढेसँगै संक्रमण नियन्त्रण गर्न आवश्यक छुट्टै शौचालयलगायतको व्यवस्थापनमा समस्या परेको छ। अस्पतालमा अन्य रोगका बिरामीको पनि उपचार भइरहेकाले उनीहरूमा कोरोना संक्रमण हुनसक्ने उच्च जोखिम छ। तर अस्पतालले भर्ना भएर उपचार गर्ने बिरामीका लागि पीसीआर परीक्षण अनिवार्य गरेको छ। 

वीरमा मात्र होइन, राजधानीका मुख्य अस्पतालहरूमा कोरोना संक्रमितको उपचारका लागि वेड पाउनै मुस्किल हुन थालेको छ।कोरोना संक्रमितको उपचार गर्ने अस्पताल भरिन थालेपछि घरमै आइसोलेसनमा बस्ने संक्रमितको संख्या ह्वात्तै बढेको छ। 

स्वास्थ्य मन्त्रालयको १९ असोजसम्मको तथ्यांक अनुसार होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या १२ हजार ३१६ पुगेको छ। यस्तै, संस्थागत आइसोलेसनमा बस्ने संक्रमितको संख्या ११ हजार १९१ छ। 

होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या सबैभन्दा बढी वागमती प्रदेशमा ७ हजार ५३२ छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २७५ छ। संस्थागत आइसोलेसनमा बस्नेहरूको संख्या पनि वागमती प्रदेशमा नै सबैभन्दा बढी अर्थात ८ हजार २९६ छ।

१६ असोजसम्मको तथ्यांक अनुसार होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या ११ हजार ७६० र संस्थागत आइसोलेसनमा बस्नेको संख्या ९ हजार ४७४ थियो । पछिल्ला दिनहरूमा दैनिक दुई हजारका दरले कोरोना संक्रमित थपिन थालेपछि संक्रमितको उपचार गर्ने अस्पताल भरिएका कारण होम आइसोलेसनमा बस्नेहरूको संख्या बढीरहेको देखिन्छ। 

प्रकाशित मिति: : 2020-10-05 23:50:46

प्रतिकृया दिनुहोस्