आइपीएलमा सट्टेबाजी गर्ने थप एक नेपाली युवक पक्राउ

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)मा अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको अभियोगमा कैलालीको धनगढीबाट एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ३ चटकपुरमा प्रिति ट्रेडिङ्ग एण्ड सप्लायर्स सञ्चालन गरी बस्ने ३७ वर्षीय संजिव गुप्ता रहेका छन्।

उनले आइपिएलमा कुनै खेलाडी आउट भएमा, खेलाडीले रन बनाएमा, चौका छक्का भएमा, विकेट गएमा, टिमले जितेमा वा हारेमा समेत अनलाइन मार्फत रकम दाउमा लगाई धनगढी बजारको वडा एरियाका विभिन्न व्यक्तिहरुलाई सट्टेबाजी खेल खेलाउने गरेकाे प्रहरीको दाबी छ।

गुप्ताको साथबाट अनलाइन मार्फत सट्टेबाजी गर्न गराउन प्रयोग गरेका दुई थान मोबाइल समेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि पनि प्रहरीले मोरङबाट तीन जनालाई पक्राउ गरेकाे थियाे। पक्राउ व्यक्ति उपर जुवा वा सट्टाबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन्।

प्रकाशित मिति: : 2020-10-06 07:56:23

प्रतिकृया दिनुहोस्