नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रदेश ५को संसदमा पार्टीका सांसदहरूले गरेको व्यवहारलाई ‘अमर्यदित’ र ‘संसदीय व्यवहार’को प्रतिष्ठा विपरीत भनेका छन्।
उनले त्यो घटनामा आत्मालोचना गर्न र गल्ती गर्नेलाई कारबाही गर्न पनि भनेका छन्।
प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङमा प्रस्ताव गरेपछि अहिले त्यसको बारेमा चर्काचर्की भइरहेको छ। खासगरी प्रतिपक्षी नेपाली कांग्रेसले त्यसको विरोध गरिरहेको छ।
त्यो प्रस्तावमाथि सोमबार संसदमा छलफलको क्रममा कांग्रेसका सांसदहरूले संसद अवरुद्ध गर्दै कुर्सीसमेत तोडफोड गरेका थिए।
नेता थापाले फेसबुकमा लेखेका छन् ‘प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ। संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्। हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ। हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ।’
उनले प्रतिपक्षको भूमिका के कस्तो हुने र सरकारको ‘नाजायज हठ’का विरुद्ध कसरी प्रतिकार गर्ने भनेर पार्टीले आफ्ना सांसदहरूलाई सिकाउन नसकेको पनि बताएका छन्।
त्यस्तै उनले संसदमा मन्त्रीले नै ‘घिसारेर निकालिहाल’ भन्ने व्यवहारको प्रतिकार गर्न पनि प्रतिपक्षले नैतिकता गुमाएको बताएका छन्।
‘प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउँछ, पाउनु पर्छ।आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै छ। प्रतिपक्षको भूमिका के-कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो’ थापाले भनेका छन् ‘प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्छ। नत्र मन्त्रीको “घिसारेर निकालिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो। आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ।’