विगत एक सातादेखि कोरोना संक्रमणबाट लडिरहेका नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको स्वास्थ्य अवस्थामा केही सुधार आएको छ।
उनको शरीरको तापक्रम नियन्त्रणमा छ भने घाँटीदेखि शरीर दुख्ने क्रम पनि कम हुँदै गएको जानकारी उनले बिएल नेपाली सेवालाई दिएका छन्।
आठ दिनअघि अध्यक्ष चन्द तथा महासचिव अशोकनाथ प्याकुरेलमा कोरोना संक्रमण देखिएको थियो। महासचिव प्याकुरेल अस्पतालको ‘आइसोलेसन वार्ड’ मा भर्ना छन् भने चन्द काठमाडौंस्थित घरमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन्।
उनले बिएल नेपाली सेवासँग संक्षिप्त कुराकानी गर्नेक्रममा आफूले नियमित तातो पानी, बेसार पानी पिउन थालेको बताए। चिसोबाट आफूलाई टाढा राखेको र नियमित व्यायाममा संलग्न हुन थालेको बताए।
‘राती सुत्नुअघि १५–२० मिनेटमा तातो पानी पिउने गरेको छु। बेसार पानी पनि बेलाबेलामा लिइरहेको छु। चिसो खानेकुरालाई पुरै बारेको छु। फलफुल खाँदा पनि हल्का उमालेर खाइरहेको छु,’ उनले आफ्नो दैनिकी बताए, ‘ज्वरो अहिले छैन। घाँटी दुख्न पनि कम छ।’
उनले आउँदो ४ दिनपछि दोस्रो स्वाब टेस्ट गर्ने पनि जानकारी दिए। उनले सबैसँग अपील गरेका छन्, ‘आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला। मलाई केही हुदैन भन्ने भ्रममा नरहनु होला। सरकारले भनेको सामाजिक दुरी कायम गर्नु होला। मास्क अनिवार्य लगाउनु होला।’
उनले कोरोना महामारीको प्रतिकूल अवस्थामा तातो खानेकुरा खान सबैलाई आग्रह गरेका छन्।