यौनको कुरा पनि सिकाइ राख्नुपर्छ र?

'मेरो बच्चा, झुटो नबोल्नू ल।'

तपाईंलाई याद छ, तपाईंकी आमाले पहिलोपल्ट कहिले यसो भन्नुभएको थियो? 

४ वर्ष पुग्दा हो? १२ वर्ष? 

कि अरू कोही झुट बोल्नेलाई आमाले गाली गरिराख्दा हो? कि तपाईंको झुट पहिलोपल्ट पक्डिएको दिन? 

एउटा त पक्का होला। 

'मेरो बच्चा, अरूको सामान कहिल्यै नचोर्नू ल।'

तपाईंलाई याद छ, तपाईंका बाले पहिलोपल्ट कहिले यसो भन्नुभएको थियो? 

५ वर्ष पुग्दा हो? १४ वर्ष? 

कि घरमा अरू कसैले चोरेपछि सजाय पाइरहेका बेला हो? कि तपाईंको चोरी पहिलोपल्ट पक्डिएको दिन? 

एउटा त पक्का होला।

राजेन्द्र बोहराको नाम सुन्नुभएको छ? पहाडमा एउटा सुन्दर ठाउँ छ बझाङ। त्यही बझाङको मष्टा गाउँका मान्छे हुन् यी। भर्खर १८ वर्ष पुगेका राजेन्द्रले अस्ति भर्खर एउटी १२ वर्षकी बच्चीलाई बलात्कार गरेर मारिदिए। यो उनले गरेको पहिलो बलात्कार थिएन।

केही महिनाअघि उनैले अर्की १४ वर्षकी बच्चीलाई पनि बलात्कार गरेका रहेछन्। धन्न त्यो बेला बलात्कार मात्र गरे, ज्यान लिएनन्। 

पहिलो बलात्कारपछि केही विचौलियाले ती बच्चीका बाआमा र राजेन्द्रका बाआमालाई मिलाएर राजेन्द्रका लागि सजाय तोकिदिए- राजेन्द्रले ती बच्चीको खुट्टा ढोगेर ५०० रूपैयाँ चढाउनु पर्ने भयो।

खुट्टा ढोगेर पैसा त देवीलाई चढाइन्छ।

राजेन्द्रले त्यो बेला ती बच्चीलाई के देखे होला? देवी?

१४ वर्षको योनीलाई बलात्कार गर्दा कति दुख्यो होला है। त्यति सानो शरीरले कति 'नाइँ! नाइँ!' भन्यो होला।

त्यत्रो दुखाई सहेको योनी जम्मा ५०० रूपैयाँमै चुप लाग्यो।

राजेन्द्रलाई त्यो बेला कुनै योनी दुखाईको मूल्य कति लाग्यो होला?

कुनै केटीको 'नाइँ! नाइँ!' को मूल्य कति लाग्यो होला? ५००?

भर्खर १४ वर्षे बच्चीलाई बलात्कार गरेर उम्किएका उनै राजेन्द्रले फेरि १२ वर्षकी सम्झनालाई बलात्कार गर्दा सम्झनालाई के देखे होला? देवी?

देवीलाई त मान्छेले दिने चोटले दुख्दैन। सम्झनालाई दुख्यो होला कि नाइँ?

त्यो बेला राजेन्द्रको गोजीमा कति रूपैयाँ थियो होला? १०००? 

'मेरो बच्चा, कोही केटीलाई कहिल्यै जबरजस्ती नगर्नू ल। उसलाई मन नलाग्दा नछुनू ल? म केटा हुँ, त्यसैले जो केटीलाई जे पनि गर्न मिल्छ भन्ने नसोच्नू ल?'

राजेन्द्रका बाआमाले उनलाई पहिलोपल्ट कहिले यसो भनेका थिए होला?

तपाईंका बाआमाले तपाईंलाई पहिलोपल्ट कहिले यसो भन्नुभएको थियो? कि अहिलेसम्म भन्नुभएकै छैन?

'मेरो बच्चा आफ्नो ठाउँ, जात छाडेर बिहे गर्नुहुन्न ल? संस्कार बिगार्नु हुन्न।'

तपाईंका बाआमाले तपाईंलाई पहिलोपल्ट कहिले यसो भन्नुभएको थियो? 

१२ वर्ष पुग्दा हो? कि १४ वर्ष? 

तपाईंको बिहे गर्ने उमेर भइसकेको थियो?

प्रकाशित मिति: : 2020-10-06 16:37:51

प्रतिकृया दिनुहोस्