काठमाडौँको भन्दा जेठो भक्तपुरको रानीपोखरी पुनर्निर्माण, प्रवेश गर्न अब लिनुपर्दैन सेनाको अनुमति

केही दिनअघि काठमाडौँको रानीपोखरीको मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राख्ने काम सम्पन्न भयो। मल्लकालीन शैलीमा निर्माण गरिएको रानीपोखरीमा अहिले लगभग पानी भरिएको छ। तयारी अनुसार उपयुक्त समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भएको रानीपोखरीको उद्घाटन गर्नेछिन्।

काठमाडौँमा रानीपोखरी पुनर्निर्माण हुँदै गर्दा भक्तपुरमा पनि रानीपोखरी निर्माण कार्यले गति लिन सुरु गरेको थियो। धेरै समय ओझेलमा परेको यो रानीपोखरी छिट्टै सर्वसाधरणका लागि खुल्ला गर्ने रणनीति भक्तपुर नगरपालिकाको छ।

कसरी पर्‍यो ओझेलमा

रानीपोखरी भन्ने बित्तिकै धेरैले काठमाडौँकै रानीपोखरी सम्झन्छन्। तर, यो कथा काठमाडौँको नभइ भक्तपुरको रानीपोखरीको कथा हो।

भक्तपुरको सल्लाघारीमा रहेको सैनिक आवासीय महाविद्यालय अन्तर्गत विज्ञान तथा व्यवस्थापन संकाय रहेको भवनको बाटो हुँदै रानीपोखरी पुग्न सकिन्छ।

करिब बि.सं. २०४० सालपछि भक्तपुरको रानीपोखरीमा नागरिकहरुलाई प्रवेश गर्न दिइएन। यसअघि सबैका लागि खुल्ला रहेको रानीपोखरी क्षेत्रको करिब ३२ रोपनी क्षेत्रफल तत्कालीन शाही सरकारले सैन्य तालिम केन्द्रको विकास गर्न अधिग्रहण गर्‍यो। जनताको जमिनमा सेनाको नियन्त्रणमा पुग्यो। त्यहाँ वीरेन्द्र सैनिक आवासीय महाविद्यालय (हाल सैनिक आवासीय महाविद्याल) बनाइयो, खेल मैदान बन्यो, नयाँ घर ठडिए। त्यसपछि स्थानीय स्वतन्त्र रुपमा रानीपोखरी क्षेत्रमा जानबाट बञ्चित भए।

तर, सेनाले आफ्नो सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा राखेको रानीपोखरीमा भक्तपुरवासीहरुलाई जानुपर्ने बाध्यता थियो। किनभने त्यहाँ उनीहरुका दिगु द्य: (कुलदेवता) रहेको छ।

प्रकाशित मिति: : 2020-10-07 00:03:01

प्रतिकृया दिनुहोस्