यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई

लुइस ग्लिक

यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई दिइने भएको छ। 

स्टकहोममा बिहीबार आयोजित एक कार्यक्रममा स्विडिस एकेडेमीले अमेरिकी कवि ग्लिकलाई नोबेल साहित्य पुरस्कार दिने घोषणा गरेको हो। 

विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन्।

कवि ग्लिकले साहित्यमार्फत ‘काव्यात्मक आवाजमार्फत सुन्दर ढंगले व्यक्तिगत अस्तित्वलाई सर्वव्यापी बनाउन’ भूमिका खेलेको भन्दै यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको स्विडिस एकेडेमीले जनाएको छ।

सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी ग्लिक यल विश्वविद्यालयमा अंग्रेजीकी प्राध्यापकसमेत हुन्। सन् १९९२ मा प्रकाशित कवितासंग्रह ‘द वाइल्ड आइरस’ लाई समीक्षकहरुले पनि प्रशंसा गरेका थिए। जुन कवितासंग्रहमा रहेको ‘स्नोड्रप्स’ कवितामा शिशिर यामपछि कसरी चामत्कारिक ढंगले जीवन फर्किन्छ भन्ने कुरा प्रस्तुत गरेकी छिन्। त्यस्तै उनका ‘भिटा नोभा’, प्रूफ्स एन्ड थिएरिज’, ‘मिडोल्यान्ड्स’, ‘फेथफुल एन्ड भर्चुअस नाइट’ लगायतका कवितासंग्रह प्रकाशित छन्।
 

प्रकाशित मिति: : 2020-10-08 18:32:00

प्रतिकृया दिनुहोस्