जसले वन्यजन्तुको आक्रमणमा श्रीमान् गुमाए

अमृता जैसी आचार्य (माथि) र जानकी थारु । पृष्ठभूमिमा हात्तीले भत्काएको अमृताको घर ।
अमृता जैसी आचार्य (माथि) र जानकी थारु । पृष्ठभूमिमा हात्तीले भत्काएको अमृताको घर ।

वन्यजन्तुको आक्रमणमा परी श्रीमान् गुमाएका बर्दियाका एकल महिलाहरूले एक–आपसमा सुख–दुःख साट्ने गरी समूह बनाएका छन्। जीवनसाथीको ज्यान लिने वन्यजन्तुप्रति उनीहरू नकारात्मक भने छैनन्।
२८ असोज २०६६ को रात, ओमप्रसाद जैसी मस्त निद्रामा थिए। गाउँलेको होहल्लाले ब्यूँझिए। काट्न ठिक्क बेला भएको धानबालीमा जंगली हात्ती पसेको रहेछ। 

टर्च बालेर टाढैबाट हेर्दा उनको धान खेतमा हात्ती थियो। उनी खेततिर जान तम्सिए। श्रीमती अमृताले अँध्यारोमा नजान भन्दै थिइन्, उनी चिच्याउँदै हात्ती लखेट्न कुदे। त्यसपछि ओमप्रसाद फर्किएर आएनन्। 

“हात्ती आयो भन्ने हल्ला चल्यो, नजानुस् भनेर रोक्दारोक्दै जानुभयो। पश्चिमतिरबाट आएको हात्तीले श्रीमान्‌लाई आक्रमण गरेर मारिदियो”, अमृता सम्झिन्छिन्।

अमृताको घर बर्दियाको ठाकुरद्वारा नगरपालिका-९ स्थित शिवपुरमा रहेको हात्तीसार नजिकै पर्छ। उनको घरभन्दा पश्चिममा गेरुवा नदीसँगै निकुञ्ज शुरु हुन्छ। जब अन्नबाली भित्र्याउने समय हुन्छ, सधैं जंगली हात्ती आएर सोत्तर पार्छ। 

खेतबारीमा आएर अन्नबाली खाने त सामान्य नै भयो। घर नै भत्काइदिन्छ। हात्तीले भत्काएपछि दुई महीना अघि बनाएको अमृताको घर १८ असोजको राति फेरि हात्तीले भत्काइदियो। 

उनी भन्छिन्, “हात्तीले बस्नै नसक्ने भइयो, छोडेर पनि कहाँ जाने।  बसिरहेको ठाउँको माया लाग्दो रहेछ।” 

भत्किएको घरमा हात्तीको आक्रमणबाट कुच्चिएको भाँडा देखाउँदै अमृता जैसी आचार्य ।
हात्तीको आक्रमणबाट ओमप्रसादको मृत्यु भएपछि उनका चार दाजुभाइ त्यहाँबाट अन्यत्र बसाइँ सरिसके। अमृता भने ठाउँको मायाले रोकिरहेको बताउँछिन्। 

बर्दियामा वन्यजन्तुको आक्रमणबाट श्रीमान् गुमाउने अमृता एक्ली होइनन्। राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बर्दियाका अनुसार, २०५६ सालदेखि हालसम्म बर्दियामा वन्यजन्तुको आक्रमणबाट श्रीमान् गुमाउने महिलाको संख्या २८ छ। त्यसमध्ये २० जना हात्तीको आक्रमणमा मारिएका हुन्। गैंडाको आक्रमणबाट दुई जना, बाघको आक्रमणले दुई र भालु, बदेल र चितुवाको आक्रमणमा परी एक/एक जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: : 2020-10-12 10:34:00

प्रतिकृया दिनुहोस्