विभिन्न २४ उद्योग विरुद्ध मुद्दा दर्ता

 खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिव्रता दिएको छ । चाडबाड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिएको हो । विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकूल देखिएका उत्पादक कम्पनी तथा उद्योग विरुद्ध मुद्दा चलाइएको जानकारी दिए। 

तत्कालै गुनासो सुन्न तयार पारिएको समूह ‘र्यापिड रेस्पोन्स टिम’ मा विभिन्न २४ उजुरी परेकामा 'ए' 'क' पानी उद्योग अनुमतिबिना सञ्चालन भएको पाइएकाले बन्द गराइएको छ । खाद्य ऐन विपरीत रहेको दुई उद्योगलाई उत्पादन रोक्का गरिएको विभागले जनाएको छ । अन्य २१ उद्योग विरुद्ध भने मुद्दा चलाइएको दाहालले जानकारी दिए।
 
उनका अनुसार विभाग र मातहतका कार्यालयबाट कुल ३९८ ठाउँका होटल, खाद्य उद्योग, दाना उद्योग खाद्य पसलमा अनुगमन भएको थियो । त्यसमध्ये खाद्य पदार्थ तथा दाना उद्योगको २७८ र खाद्य स्वच्छता सम्बन्धी १५५ गरी ४३३ नमुना सङ्कलन भएको थियो । परीक्षणका क्रममा १४ वटा नमुना प्रतिकूल  देखिएकाले कारबाही गरिएको छ । अन्य अनुसन्धानकै क्रममा रहेको जनाइएको छ । 

विभागअन्तर्गत देशमा २४ डिभिजन कार्यालय र १२ स्थानमा खाद्य आयात/निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रहेको छ । यसअघि कार्यालयले भदौ २८ देखि नै तीन वटा अनुगमन टोली परिचालन गर्दै आएको छ । कोभिड-१९ का कारण पिउने पानी, दूध तथा दानाको अनुगमन गरिएको थियो ।

अहिले भने चाडबाड केन्द्रीत अनुगमन टोली तयार गरी परिचालन गरिएको विभागले जनाएको छ । मातहतका कार्यालयलाई समेत अनुगमनलाई तिव्रता दिन निर्देशन दिइएको छ । यसअघि पानी उद्योगमा ५४ पटक अनुगमन भएको र २५ नमुना सङ्कलन भएको थियो । दुई वटा नमुना प्रतिकूल देखिएकाले कारबाही प्रक्रिया अघि बढेको जनाइएको छ । अन्य नमुना विश्लेषणको क्रममा छ । 

सात दूग्ध उद्योगमा अनुगमन भएकोमा छ वटाको नमुना सङ्कलन भएको छ ।  खाद्य व्यवसायको ३१ ठाउँमा अनुगमन भएकोमा ३४ नमुना सङ्कलन गरिएको र एउटा प्रतिकूल देखिएकाले कारबाही प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ । 

विभागले चाडबाडको विदाको समयमा पनि गुनासो सुन्ने भएको छ । यस्तै प्रयोगशाला परीक्षण समेत सञ्चालन गरिने विभागले एक सूचनामार्फत जानकारी दिएको छ । त्यसका लागि सम्पर्क व्यक्ति समेत तोकिएको छ । खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मको विभिन्न नियम निर्देशिका कार्यान्वयनमा तिव्रता दिइएको सहप्रवक्ता दाहालले बताए ।

प्रकाशित मिति: : 2020-10-12 13:29:00

प्रतिकृया दिनुहोस्