झुकेको शिर

रूमु न्यौपाने
रूमु न्यौपाने

“पापा हजुरले आज के ल्याईदिस्यो मलाई?” छोरी लुुटुपुटु गर्दै मेरो काखमा आएर बसी। मैले उसलाई ब्यागबाट ‘डेरी मिल्क’ झिकेर दिदैं  भनें, “यी मेरी छोरीलाई मैले क्याडबरी ल्याईदिएको छु। ल जाउ आफ्नो रुममा गएर पढ।” क्याडबरी पाए पछि छोरी मख्ख पर्दै आफ्नो रुममा गई।

मेरी श्रीमती नम्रताले नजिकै आएर सोधी “हजुरलाई चिया ल्याउँ ?” मैले मन नहुँदा नहुँदै जवाफ फर्काएँ, “भयो पर्दैन, मैले पिईसकें। बरु बस तिमीसंग केही कुरा गर्नु छ।” उसको अनुहारमा प्रशन्नताको भाव देखियो जुन एकैछिनपछि पुछिने वाला थियो। मैले केही संकोच मान्दै भन्न थालें, “हेर तिम्रो र मेरो विवाह कुन परिस्थितिमा भएको थियो भन्ने कुरा तिमीलाई पनि थाहा छ। म बाहिरबाट पढेर आउनासाथ ममि र ड्याडीले विवाहको दबाब दिन थाल्नुभएपछि मैले बाध्य भएर तिमीसंग विवाह गरेको हुँ।” मेरो कुराले उसको आँखा रसाईसकेको थियो।

उसले रुञ्चे स्वरमा भनी, “कुरा के हो सिधा सिधा भन्स्यो न।” उसको आँशुले मेरो मन पगाल्न खोजे पनि म आफ्नो निर्णयमा अडिक रहें। मैले उसको आँशुको अलिकति पनि पर्वाह नगरी भनिरहें, “कुरा सिधा छ नम्रता म डिभोर्स चाहन्छु। म खुशी हुन सक्दिन तिमीसंग। यस्तो कुनै पल छैन जसमा मलाई तिमीप्रति माया पलाएको होस्।” यति भनिसक्दा कसैले हाम्रो कोठाको ढोका ढकढकायो। ममिले खाना खान बोलाउनु भएको रहेछ। डाईनिङ टेबलमा गएर बसे पनि खाना खाने मन भएन। मेरो मन र दिमाग कतै हरायो। 

****

भर्खरै बाहिरबाट पढाई सकेर नेपाल फर्किएको थिएँ। विदेशमा नेपालीहरुको तछाड मछाड र कामभित्रको फोहरी राजनिती देखेको कारणले पनि मलाई नेपालमा आफ्नै व्यवसाय गर्न मन थियो। तर ममि ड्याडीको चाहना थियो कि कुनै व्यवसाय सुरु गर्नुभन्दा अगाडि म विवाह गरौं। मैले बारम्बार विवाहको प्रस्ताव अस्विकार गरेको देखेर ममि दिक्क भएर प्रश्न गर्नुहुन्थ्यो, “कोही मन पराएको छौ भने भन नत्र अब कुनै काम सुरु गर्नुभन्दा पहिला विवाह गर। हामीलाई तिम्रो घरजम भएको हेर्ने ईच्छा छ।” ममि र ड्याडीको ईच्छा अनुसार उहाहरुकै रोजाईमा परेकी नम्रतासंग मेरो विवाह भयो। 

जीवनमा चाहना नहुँदा नहुँदै मानिसले धेरै कुरा गर्छ। मेरो विवाह पनि त्यो मध्यकै एक भयो। समयले फड्को मार्दै गयो। म झन् व्यवहारमा पर्दै गएँ। आफ्नै केही व्यवसाय गर्ने ईच्छा त्यसै मरेर गयो। विवाह भएको एक बर्षमै छोरीको जन्म भयो। म छोरीको मायामा बाँधिदै गए अनि नम्रताको मायामा पनि। अकाउन्टमा मास्टर्स गरेकी नम्रता मेरो लागि भनेर जागिर पनि नगरी मेरो घरपरिवनर सम्हालेर बसेकी थिई। उसको यो त्यागको कदर म सधैं गर्थें। नचाहेरै विवाह गरे पनि नम्रतालाई चाहेर मायाँ गर्न थालेको थिएँ म।

सबै राम्रै चलिरहेको थियो। विवाह पछि मेरो केही व्यवसाय गर्ने ईच्छा फेरि जुर्मुराएर आयो। धेरै लामो सोचपछि मैले क्याफे खोल्ने विचार गरें। मेरो यो विचारमा नम्रता पनि सहमत भई। एक्लै क्याफे खोल्ने कुरा सम्भव थिएन। त्यसैले मैले नम्रतासँग सल्लाह गरेँ। नम्रताले उसको सानैदेखिको साथी दृष्टीसँग  पार्टनरशीपमा क्याफे सञ्चालन गर्न सल्लाह दिई। मैले पनि उसको कुरा सहजै स्वीकारेँ। त्यही शिलशिलामा नम्रताले दृष्टीलाई घरमा खाना खान बोलाई। मलाई निकै समझदार र यो क्षेत्रमा अनुभवी पनि लाग्यो दृष्टी।

अनेक झन्झट र तनाव सहदैं उसले र मैले मिलेर क्याफे खोल्यौं। क्याफे राम्रो चल्न थाल्यो। अनि जब मेरो सफलता उचाईमा पुग्न थाल्यो मैले आफ्नो धरातल बिर्सें। अविवाहित दृष्टीप्रति म यति मोेहित भएँ कि मैले मेरी श्रीमती, छोरी र घरपरिवारलाई बिर्सें। उसको पहिरन नै यस्तो हुन्थ्यो कि म नचाहँदा नचाहँदै उप्रति लालायित हुन्थें। यो व्यवसायिक क्षेत्रमा आफूलाई मनपर्ने भन्दा पनि व्यवसायको वातावरणमा सुहाउँदो पहिरन लगाउन पर्छ भन्ने कुरा उसले बिर्सिदैं थिई। अनि म ? म उसको त्यही पहिरन र उसको हाउभाउमा लठ्ठ हुदैं गएँ। कुनै प्रतिकार गरिन मैले उसको पहिरनमा। ऊ कहिले राति अबेरसम्म क्याफेमै समय बिताउँ भनेर अनुरोध गर्थी म उसको अनुरोधलाई बेवास्ता गर्न सक्दिनँ थिएँ। धेरैपटक मैले नम्रतालाई क्याफेमा धेरै व्यस्त भएर घर आउन ढिलो भएको कुरा बताएँ। नम्रता मैले जे भने पनि सजिलै विश्वास गर्थी। सायद म उसको सोझोपनको फाईदा उठाउँदै थिएँ। अनि यसरी दृष्टीसँग कयौं दिन र रात संगै बिताउँदा बिताउँदै कतिखेर म उसको मायामा परें मलाई थाहा नै भएन। 
“खाना किन नखाएको सबै ठिकै त छ नि बाबु” ममिको चिन्ताग्रस्त आवाजले म झस्किएँ। थालको भातले वाफ उडाउन छोडिसकेको थियो। अचानक मोबाईल बज्यो। दृष्टीले गरेकी थिई। ममि छेउमै भएको कारणले मैले संकोच मान्दै उसको फोन उठाएँ। फोन उठाउनासाथ उसले सोधी, “नम्रतासंग डिभोर्सको कुरा गयौं त? अब म धेरै पर्खिन सक्दिनँ घरबाट विवाहको दबाब आईरहेको छ मलाई।” मैले उसलाई सम्झाउँदै भनें, “हतार नगर न म कुरा मिलाउँदे छु के।” यति भनेर फोन राखें।

डिभोर्सको कुरा गरिसकेपछि नम्रताको होस ठेगानमा भएन। निकै चिन्तित देखिन थाली ऊ। ममि र ड्याडीको कानमा बिस्तारै यो कुरा पुग्यो। ममिले उग्र स्वरमा भन्नुभयो, “किन चाहियो तिमीलाई डिभोर्स ? विवाह, सम्बन्ध भन्ने कुरा पनि खेल हो र ? के हो यो सबै जवाफ देऊ।” मैले हिम्मत बटुलेर भनें, “म दृष्टीसँग विवाह गर्न चाहन्छु।” मेरो कुराले एकछिन घरमा मौनता छायो। बोल्नको लागि धेरै कुरा भए पनि सबै मौन रहे। नम्रताको आँखा बर्षिरहेको थियो। ड्याडीले मेरो गालामा एक झापड हान्नु भयो अनि रिसले चुर हुँदैं भन्नुभयो, “यो के मजाक हो ? छोरी छे तेरो यो नबिर्सी।” मैले कुनै धक नमानी भनिदिएँ, “छोरीको सम्पूर्ण खर्च म बेहोर्छु तर बिन्ती मलाई यो सम्बन्धबाट मुक्त गरिदिनुस्।” त्यसपछि कसैले केही बोलेनन्।

एकदिन म छिट्टै क्याफेबाट फर्किएँ र नम्रताको अगाडि लगेर डिभोर्स पेपर राखिदिएँ। नम्रताले एक शब्द नबोली पेपरमा साईन गरिदिई। नम्रताले डिभोर्स पेपरमा साईन गरेपछि सबैभन्दा बढी ममि रुनुभयो। किनकी नम्रता ममिको रोजाईमा परेकी बुहारी थिई। दृष्टीसंगको मेरो सम्बन्ध ममि र ड्याडीले थाहा पाएपछि मलाई धेरै गाली गर्नुभयो, धिक्कार्नु भयो तर आफूले गरेको निर्णयमा अडिक रहें।

नम्रता छोरी लिएर गएपछि उसँग मेरो कुनै सम्पर्क भएन। सम्पर्क गर्ने चाह पनि भएन। यसैबिचमा मेरो र दृष्टीको बिचमा भएको घनिष्ट प्रेम विवाहमा परिणत भयो। आफूले चाहे जस्तै एड्भान्स जीवनसंगिनी पाएर मन प्रफुल्ल भयो मेरो। ममि र ड्याडी मसंग बोल्नै छोड्नु भयो। उहाँहरुले त दृष्टीलाई बुहारी मान्दै मान्नुभएन। मैले सोचें समयसंगै सबैकुरा ठिक हुदैं जानेछ। म दृष्टीको मायामा यति अन्धो भएँ कि मैले न घर परिवारको सुने न साथीभाइको। 

हरेकपटक म दृष्टी र नम्रताको बिचमा तुलना गरिरहेको हुन्थें। मलाई यस्तो लाग्थ्यो कि दृष्टी नम्रताभन्दा कयौं गुना राम्री र मोर्डन पनि छे। अँ कहिलेकाहीं छोरीको यादले भने चस्स मुटु बिझ्थ्यो तर फेरि म तुरुन्तै आफूलाई सम्हाल्थें। मेरो आफ्नै नयाँ संसार बस्दै थियो जहाँ म कुनै पनि पुरानो यादहरु चाहन्न थिएँ। ममि र ड्याडी त मसँग एउटै घरमा भएर पनि बोल्न छोड्नुभएको थियो। त्यही एउटा दृष्टी थिई मेरो ख्याल राख्ने र मेरो खबर सोध्ने। 

त्यसदिन दृष्टी सञ्चो छैन भनेर घरमै बसी। म एक्लै क्याफे खोल्न गएँ। क्याफेमा टन्नै मान्छे आईरहेको कारणले पनि दिनभरी व्यस्त रहें। बेलुका घर आउँदा निकै थकाइ लागेको थियो। दृष्टीलाई तीन चार पटक बोलाएँ तर ऊ मेरो सामु आईन। उसको सट्टामा ममि हातमा पानी लिएर आउनुभयो। धेरैपछि ममिलाई आफ्नो अगाडि देखेर मेरो मन भक्कानियो, “ममि हजुर..” ममिले आफूभित्र गुम्सिएर बसेको पिडालाई लुकाउँदै भन्नुभयो, “बाबु सन्तानले जतिसुकै गल्ती किन नगरुन् तर बुवाआमा उनीहरुको आँखामा आँशु देख्न चाहदैनन्।”

मैले ममिको कुराको आशय बुझे झैं गरेर टाउको हल्लाएँ अनि मेरो अगाडि देखा नपरेकी दृष्टीलाई खोज्न थालें। मेरो मनाशाय बुझेर ममिले भन्नुभयो, “दृष्टी विहान तिमी क्याफे जानासाथ घरबाट निस्केकी हो अहिलेसम्म आईपुगेकी छैन। ममिको कुराले म झसंग भए मैले आत्तिदै ममिलाई सोधें, “तर ममि दृष्टीलाई त सञ्चो थिएन। म हतार हतार आफ्नो रुममा गएँ। दृष्टी रुममा थिइन। दराज खुल्लै थियो। कतै पनि दृष्टीको लुगा थिएन। ममिले मलाई हेर्नुभयो। म टाउकोलाई दुई हातले समात्दै यताउता हेर्दै थिएँ। न घरमा राखेको पैसा थियो न त उसको कुनै लुगा र गहना नै थियो। यस्तो कसरी हुन सक्छ ? पूरै कोठा र दराज रित्याएर कसरी जाने सक्छे ऊ? आखिर कहाँ गई ?

मोबाईल फोन बज्यो मैले फोन उठाएँ। “प्रदिपजी दृष्टीजीले क्याफे मलाई बेच्नुभएको छ। तपाईको त्यहाँ केही सामान छ भने भोलि नै खाली गर्नुहोला। पर्सिदेखि म आफ्नै हिसावमा क्याफे संञ्चालन गर्नेछु।” त्यति भनेर त्यो अपरिचित व्यक्तिले फोन राखिहाल्यो।

मेरो होश ठेगानमा भएन। के हुँदैंछ यो ? मलाई केही विश्वास लागिरहेको थिएन। सबैकुरा फिल्म जस्तै लागिरहेको थियो। दृष्टीलाई फोन गरें फोन स्विच अफ थियो। मलाई क्याफे दृष्टीको नाममा मात्रै दर्ता गरेकोमा ठूलो पछुतो भयो। त्यसपछि मलाई के भयो के भयो। म बेहोस भएर लडेछु। होस आउँदा म अस्पतालको शैयामा थिएँ। मेरो दायाँ र बायाँ क्रमैसंग ड्याडी र ममि बस्नुभएको थियो। मैले आफैंलाई धिक्कारेँ। यो उमेरमा पनि मैले उहाँहरुलाई सुख दिन सकिन। म ममिको काँधमा टाउको राखेर बेस्सरी रोएँ। एकछिन अस्पतालको कोठामा मेरो रुवाई गुञ्जियो। मैले बिस्तारै आफूलाई सम्हाल्दै गएँ। 

नम्रताले कति माया गर्थी भन्ने कुराको बल्ल महसुस हुन थालेको थियो। तर नम्रता मेरो जीवनबाट धेरै टाढा गईसकेकी थिई। उसलाई मेरो जीवनबाट टाढा जान बाध्य पार्ने पनि म आफैं थिएँ। बिस्तारै मैले दृष्टीले दिएको धोका बिर्सिदै गएँ। 

मैले त्यसपछि घर धितो राखेर भए पनि बैंकबाट ऋण लिएर फेरि केही व्यवसाय सुरु गर्ने निर्णय गरेँ। म आफ्नो सबै डकुमेन्ट लिएर बैंकमा गएँ। बैकमा केहीबेर पर्खेर बसेपछि मलाई बैंक मेनेजरको कोठामा पस्ने अनुमति दिईयो। म बैंक मेनेजरको कोठामा गएँ। कुर्सी खाली थियो म पर्खेर बसें। एकछिनपछि बैंक मेनेजरको प्रवेश भयो कोठामा। त्यो देखेर मेरो सास फुल्यो। खुट्टा लगलग काँप्यो अनि बोली रोकियो। मेरो अगाडि बसेकी बैंककी मेनेजर अरु कोही नभएर नम्रता थिई। मेरो शिर लाजले झुक्यो त्यसपछि मैले उसलाई शिर उठाएर हेर्न सकिनँ। 

प्रकाशित मिति: : 2020-10-17 11:45:00

प्रतिकृया दिनुहोस्