विश्वबाटै हराइसकेको ‘वाष्प इन्जिन’ वाला रेलमा ‘संग्रहालय’

संग्रहालय
संग्रहालय

धैर्यकान्त दत्त

पुरानो ‘न्यारो गेज’लाई विस्थापित गरेर जनकपुर–जयनगर रेल मार्ग ब्रोडगेज बनिसकेको छ। सीमावर्ती जयनगरदेखि जनकपुरको कुर्थासम्म ३४ किलोमिटर ब्रोडगेजमा सन्चालन हुने रेल भारतबाट खरिद गरेर सरकारले मगाइसकेको छ।

कर्मचारीलगायतका प्राविधिक कुराहरू अझै पूरा हुननसक्दा धनुषाको खजुरीभन्दा केही किलोमिटर पूर्व इनर्वा स्टेशनमा त्रिपाल ओढाएर थन्काइएको छ।

जयनगर–जनकपुरसम्म नयाँ रेल गुडाउने तयारी लगभग पूरा भइसकेको छ। 

तर, यसअघि सन्चालनमा रहेका दुर्लभ वाष्प इन्जिनको संरक्षण नहुँदा खिया लागेर फालिएको छ। वाष्प इन्जिनमात्र होइन न्यारोगेज रेलका पुराना सामान पनि ‘कवाड’ भइसकेका छन्। 

ब्रोडगेज रेलमार्गको निर्माण थालिएसँगै राज्यले चासो नदिँदा पुराना वाष्प इन्जन, बोगीलगायतका सामान लथालिङ अवस्थामा छन्। 

ब्रोडगेज रेलमार्ग निर्माण थालिएसँगै सरकारले पुराना इन्जन, बोगीका साथै अन्य संरचनाहरु संरक्षण गर्न १६ जना कर्मचारीसमेत खटाएको थियो। 

तर, संरक्षणतर्फ चासो नदिइँदा इन्जन पार्टपूर्जादेखि कारखानामा रहेका अन्य सामग्रीसमेत हराइ सकेका छन्।

जनकपुरबाट करिब १५ किलोमिटर पूर्वमा रहेको खजुरी रेल्वे स्टेशनस्थित कारखानामा थन्काइएका पुराना ब्रम्ह, विष्णु, रामसीता, गोखनाथ, पशुपतिनाथ, महावीर उल्लेखित ऐतिहासिक र दुर्लभ रेल इन्जनको संरक्षण हुनसकेको छैन्। 

२०५० सालसम्म वाष्प इन्जनले सेवा दिँदै आएको नेपाल रेल्वे २०५१ सालमा भारत सरकारले १८ बोगीसहित डिजेल इन्जन सहयोग गरेपछि जनकपुर–जयनगर रेलमार्गमा आधुनिक रेल सन्चालनमा आएको थियो।

विश्वभरबाट विस्थापित भइसकेको वाष्प इन्जिनलाई संरक्षण गरेर सरकारले रेल संग्रहालय बनाउनतर्फ चासो दिनुपर्ने ब्रोडगेज रेलमार्ग निर्माण प्रारम्भ भएदेखि स्थानीयले माग गरिरहेका छन्। 

प्रकाशित मिति: : 2020-10-18 12:48:00

प्रतिकृया दिनुहोस्