पाइलैपिच्छे लुटिदैछन् उपभोक्ता, बदमासी गर्नेलाई कारबाही गर्न नियामक र कानून नै कमजोर

विशाल ग्रुपले म्याद गुज्रेकाे सामानमा रिलेबलिङ गरेपछि १५ असाेजमा छापा मार्‍याे । तस्वीर: न्यूज २४
फितलो कानून र भएका कानूनको कार्यान्वयन गर्ने नियामकको इच्छाशक्ति नहुँदा उपभोक्ता पाइलैपिच्छे लुटिएका छन्। उपभोक्ता अधिकार र क्षतिपूर्तिको अभ्यास टाढाको कुरा बनिरहेको छ।

फितलो कानून र भएका कानूनको कार्यान्वयन गर्ने नियामकको इच्छाशक्ति नहुँदा उपभोक्ता पाइलैपिच्छे लुटिएका छन्। उपभोक्ता अधिकार र क्षतिपूर्तिको अभ्यास टाढाको कुरा बनिरहेको छ।


१५ असोजमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारिक समूह विशाल समूहले आयात गर्ने चकलेट, बिस्कुट, जुस, चिप्स लगायत खाद्यवस्तुको म्याद सकिए पनि फेरि नयाँ म्याद राखेर (रिलेबलिङ गरेर) बजारमा आपूर्ति भइरहेको फेला पार्‍यो। आयन इन्टरनेशनल नामक वितरक समूह मार्फत म्याद सकिएका स्निकर्स चकलेट, ओरियो बिस्कुट, प्रिन्जल्स चिप्स जस्ता उत्पादनमा मेसिन मार्फत धमाधम नयाँ मिति राखिरहेको बेला विभाग र प्रहरीको संयुक्त टोलीले छापा मारेपछि उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर क्षति पुर्‍याउने 'धन्दा'को खुलासा भएको थियो।  

वाणिज्य विभागका निरीक्षण अधिकृत रविन्द्र आचार्यका अनुसार यो घटना ‘टिप अफ द आइसबर्ग’ अर्थात् फेला परेको सानो पाटो मात्रै हो। “म्याद सकिएको वस्तु ठूलो मात्रामा बजारमा पुर्‍याउने व्यापक धन्दा चलिरहेको छ भन्ने यसले देखाउँछ”, उनी भन्छन्।

पछिल्लो दुई सातामा मात्रै दर्जनौं सेवा तथा वस्तुका पसलको अनुगमनका क्रममा म्याद नाघेका अखाद्य वस्तु फेला परेका छन्। सरकारी स्वामित्वकै कम्पनीहरुले म्याद नाघेका र लेबलिङ नगरिएका नौनीघ्यू र चामल बिक्रीका लागि राखेको भेटिएको छ। कानून अनुसार म्याद गुज्रिएका सामग्रीको जानकारी नियामक निकायलाई दिँदै तिनलाई सार्वजनिक रुपमा नष्ट गर्नुपर्छ। तर, नियामकले न यस्ता जानकारी पाउँछन्, न त ती सामग्री नष्ट गरिन्छ। 

२८ असोजमा ललितपुरको मंगलबजारमा जुस किनेका पाटनढोका बस्ने कुमार तामाङको अनुभवले पनि बजारमा म्याद गुज्रिएका सामग्री छ्यापछ्याप्ती रहेको देखाउँछ। उनले किनेको तीन बोतल जुस घर पुगेर मिति हेर्दा मात्रै खुल्यो, ती त म्याद गुज्रिसकेका पो रहेछन्। यसले सदा झैं दशैंको छेको सरकारी अनुगमन टोलीले बजार अनुगमन बढाए पनि बजारमा म्याद नाघेका र अखाद्य वस्तुको दबदबा रहेको देखाउँछ। 

व्यवसायीको इमान डगमगाएका कारण बजार स्वच्छ र प्रतिस्पर्धात्मक छैन, जसको मारमा उपभोक्ता पर्दै आएका छन्। तोकिएभन्दा बढी मूल्य तिर्नुपर्ने, गुणस्तर राम्रो नहुने वा भ्रमपूर्ण विज्ञापन तथा सूचना मार्फत ठगी गर्ने धन्दा निर्बाध चलिरहेको छ। नियामक निकाय निष्प्रभावी हुँदा त्यस्तो धन्दा फस्टाएको छ। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्छन्, “बजार लूटको अखडा बनेको छ, एउटा नागरिक घरबाट बजार पुगेर फर्किदा त्यस्तो कुनै क्षेत्र छैन, जसमा मूल्य, गुणस्तर तथा नापतौलमा नलुटिएकोमा ढुक्क हुन पाओस्।”

प्रकाशित मिति: : 2020-10-18 16:49:00

प्रतिकृया दिनुहोस्