डब्लुएचओले कोरोना संक्रमितकाे उपचारमा प्रयाेग नगर्नु भनेकाे ‘रेम्डेसिभिर’ नेपाल आइपुग्याे

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना संक्रमितको उपचारमा प्रयाेग गर्न नहुने भनेर मान्यता नदिएको ‘रेम्डेसिभिर फेरि नेपाल ल्याइएको छ।

सरकारले थप छ हजार भाइल रेम्डेसिभिर ल्याउन तीन ओटा कम्पनीलाई अनुमति प्रदान गरेको थियो। त्यसमध्ये साढे चार सय भाइल औषधि काठमाडौं आइपुगेको हो। यस अघि पनि नेपालमा कोरोनाको उपचारमा यो औषधिको प्रयोग हुँदै आएको थियो।

तर डब्लुएचओले ‘रेम्डेसिभिर’ कोरोनाको उपचारमा प्रभावकारि नहुने बताउँदै आएकाे छ।

सरकारले भने डब्लुएचओको मान्यता विपरित ‘रेम्डेसिभिर’ औषधि आयात, बिक्री र प्रयोग गर्न अनुमति दिँदै आएको छ।

यस पटक औषधि व्यवस्था विभागले यति फार्माकेम डिस्ट्रिब्युटर्स प्रालि लतिलपुर, माइलन प्रालि काठमाडौं तथा भारतीय कम्पनी हेट्रो ल्याब्स लिमिटेडलाई ‘रेम्डेसिभिर’ल्याउन अनुमति दिएको हो।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार माइलन प्रालिले चार सय ५० भाइल ‘रेम्डेसिभिर’ नेपाल आइपुगेको जानकारी दिए।

यस अघि विभिन्न कम्पनीले छ हजार भाइल रेम्डेसिभिर आयात गरेका थिए। पछिल्लो पटक जिम्मेबारी पाएका तीन कम्पनीले यही साताभित्रमा थप छ हजार भाइल ‘रेम्डेसिभिर’ ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘रेम्डेसिभिर’को प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको डब्लुएचओले ठहर गरेको छ।

डब्ल्यूएचओले  परीक्षणमा ‘रेम्डेसिभिर’ तथा अन्य तीन औषधिको अस्पतालमा भर्ना भएका ११,००० बिरामीमा प्रयोग गरिएको थियो।

ती कुनै पनि औषधिले बिरामीको जीवित रहने सम्भावना वा उनीहरूलाई भेन्टिलेटर आवश्यक पर्ने नपर्ने अनि कति लामो समय अस्पतालमा बस्नुपर्ने भन्नेबारे खासै प्रभाव पारेको देखिएन।

‘रेम्डेसिभिर’को नतिजाले कोरोनाको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको आशामा धक्का लागेको जनाएको छ।

प्रकाशित मिति: : 2020-10-21 07:28:00

प्रतिकृया दिनुहोस्